बुटवल, २३ माघ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका व्यावसायिक सटरहरू भत्काउन थालेको छ । उक्त सटरहरु बिहीबार बिहानै भत्काउन सुरु गरेको हो ।
पटक–पटक सूचना जारी गरेर व्यावसायीलाई सटर खाली गर्न आग्रह गर्दा पनि नटेरेपछि व्यावसायिक सटरहरूमा डोजर चलाएको बताइएको छ। अस्पतालका ७३ वटा व्यावसायिक सटरहरु धमाधम भत्काइरहेको जनाइएको छ ।
प्रदेश सरकारले अस्पतालको विकाससँगै प्रदेश गौरवको आयोजनाका रुपमा अगाडि बढाउने भन्दै ती सटर भत्काउन थालेको बताएको छ ।
जिल्ला अदालत रुपन्देहीमा परेको मुद्दा उपर अदालतले सटर भत्काउन बाटो खुलाएसँगै अस्पताल विकास समितिले बुधबार राति १२ बजे सम्म २४ घण्टे अल्टिमेटम दिएको थियो ।

इलाका प्रहरी कार्यलय बुटवलकाका अनुसार अल्टिमेटम उपर पनि व्यासायीहरुले सटर खाली गर्न आनाकानी गरेपछि डोजर चलाइएको हो । सटर भत्काउने क्रम जारी नै रहेको छ ।




