रुपन्देही, २० माघ । बहुप्रतीक्षित राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेकेदार पक्षलाई निर्माण काम पूरा गर्न तीन महिनाको समयावधि थप गरिएको छ ।
विमानस्थल निर्माणको ठेक्का पाएको नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले जनवरी ७, २०२० अर्थात २०७६ पुस २२ गतेभित्र काम सम्पन्न गर्नेगरी थप समयसहित ठेक्का पाएको थियो । ठेकेदार पक्षले तोकिएको समयमा ८६ प्रतिशत मात्रै भौतिक काम सम्पन्न गरेको देखिएको छ ।
ठेकेदार पक्षले अझै तीन महिना म्याद थपको माग गरेअनुसार एशियाली विकास बैंक (एडिबी) को सहमतिमा प्राधिकरण सञ्चालक समितिले समय थप गरेको राष्ट्रिय गौरवको आयोजना निर्देशक प्रदीप अधिकारीले बताउनुभयो । ‘मार्च ३१, २०२० अर्थात आगामी चैत १८ गतेसम्म म्याद थप भएको जनाइएको छ । सन् २०१४ डिसेम्बर ३१ मा कार्यादेश पाई त्यसैअनुरूप विमानस्थलको स्तरोन्नतिका लागि सन् २०१७ जुन २ अर्थात २०७४ जेठ १९ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी बोलपत्र आह्वान भएको थियो ।

विश्वव्यापी बोलपत्र आह्वानमा चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सन ग्रुपले ‘टेन्डर’ पारी आवश्यक सम्झौता गरी २०७१ माघ १ गतेदेखि निर्माण गरेको थियो । सुरुमा कुल ६ अर्ब २२ करोड ५१ लाख ३० हजार २२७ रूपैयाँ ९१ पैसा लागतमा निर्माण सम्पन्न गरी नर्थ वेस्टले ठेक्का पाएको भए पनि उक्त रकममा पुनः ‘भेरिएसन’ भएको छ ।
निर्धारित समयमा काम नसकिएपछि पुनः सन् २०१८ जनवरी १ सम्मका लागि म्याद थप भए पनि थपिएको म्यादमा काम सम्पन्न नभएपछि फेरि २०१९ जुन २८ सम्मका लागि म्याद थप गरिएको थियो । सो अवधिमा पनि काम सम्पन्न नभएपछि पुनः जनवरी ७, २०२० अर्थात २०७६ पुस २२ गतेभित्र काम सम्पन्न गर्नेगरी थप समय सीमा दिइएको थियो । त्यस अवधिमा पनि काम सम्पन्न नभएपछि प्राधिकरणले अन्तिम सीमा भन्दै तीन महिना समयावधि थपेको छ ।
आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार अब चार प्रतिशत सिभिलको काम र १० प्रतिशत विद्युतीय तथा उपकरणसम्बन्धी काम बाँकी छ । उहाँले भन्नुभयो, ‘आइसिपी–१ का धेरै काम सम्पन्न भएका छन् । आइसिपी–२ का धेरै काम बाकी छन् ।’ आइसिपी–१ भित्र धावन मार्ग, ट्याक्सी मार्ग, टर्मिनल भवन, प्रशासनिक भवन, कन्ट्रोल रुम, कार पार्किङ, धावन मार्गको बत्ती, जहाज पार्किङ रहेको अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार आइसिपी–१ को टर्मिनल भवनको फिनिसिङ र उपकरण जडान बाहेक अन्य काम सम्पन्न भइसकेको छ। ‘अब १४ प्रतिशत काम बाँकी छ’, अधिकारीले भन्नुभयो । यसैगरी आइसिपी–२ मा उपकरण जडान र फाउन्डेसनको काम बाँकी रहेको आइसिपी–२ हेरिरहनुभएका उपनिर्देशक प्रवीण न्यौपानेले बताउनुभयो ।




