काठमाडौँ, १८ माघ । बेलायत युरोपेली संघबाट आधिकारीक रुपमा पूर्ण छुटेको छ । बेलायती समयअनुसार गएको मध्यरातबाट बेलायत पूर्णरूपमा संघबाट अलग भएको हो ।
करिब आधा शताब्दीअघि बेलायत युरोपेली संघमा सदस्य बनेको थियो । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले संघबाट अलग भएको घटनालाई नयाँ बिहानी भनेका छन् । संघबाट बाहिरिने विषयमा संघका अन्य सदस्यहरु र बेलायतबीच तीन वर्षदेखि वार्ता चल्दै आएको थियो । जसमा निकै राजनीतिक खटपट पनि भएको थियो ।
ब्रेक्जिट पक्षधर र युरोपेली सङ्घको समर्थन गर्ने प्रदर्शनकारीहरू दुवै पक्षले उत्सवको रुपमा मनाएको छ । संघबाट बाहिरिएसँगै बेलायत संक्रमणकालको चरणमा प्रवेश गरेको छ तर परिर्वतन भने खासै हुने छैन । सदस्यता त्यागे पनि धेरैजसो युरोपेली सङ्घका कानूनहरू कायमै रहने छन् ।

यसै सालको डिसेम्बरको अन्त्यसम्म मानिसहरू स्वतन्त्र रूपमा आवतजावत गर्न सक्नेछन् । त्यति बेलासम्म स्थायी रूपमा खुला व्यापार सम्झौता युरोपेली सङ्घसँग गरिसक्ने लक्ष्य बेलायतले राखेको छ ।
लेबर पार्टीका नेता जेरेमी कोर्बिनले ब्रेक्जिटपछि देश अघि बढिरहनु पर्ने र संघसँग राम्रो सम्बन्ध बनाइराख्नु पर्ने धारणा राखेका छन् । उनले ठोस आधारबिना अमेरिकासँग सम्झौत गर्न नहुने बताएका छन् ।



