डडेल्धुरा, १७ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका आलिताल गाउँपालि कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई अज्ञात समूहले अपहरण गरी निर्घात कुटपिट गरेको छ। शुक्रबार १२ बजेपछिको समयमा उनलाई अज्ञात समूहले अपहरण गरी कुटपिट गरेको हो।
आलिताल गाउँपालिका ३ को वडा बैठकमा सहभागी हुनका लागि बैठकस्थलतर्फ जानेक्रममा उनलाई अपहरण गरी कुटपिट गरेको प्रहरीले जनाएको छ।
आलिताल तालभन्दा करिब पाँचसय मिटरमाथि चौर वण्डले भन्ने स्थानमा मुकुण्डो धारी समूहले जोशीमाथि अपहरण र कुटपिट गरी गम्भीर घाइते बनाएको आलिताल प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक ९असइ० कमलप्रसाद जोशीले जानकारी दिए।
अज्ञात समूहको कुटपिटबाट जोशी गम्भीर घाइते भएका छन्। उनको खुट्टा भाँचिएको छ भने टाउको र हातमा गम्भीर चोट लागेको छ। उनलाई एम्बुलेन्समार्फत धनगढी लगिएको छ।

जोशी सवार से ६ प ७९२६ नम्बरको मोटर साइकलमा पनि तोडफोडा गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मोटरसाइकमा आगजनीको समेत प्रयास गरिएको छ।
जोशीसँगै मोटरसाइकमा सवार नेकपा आलिताल गाउँपालिका कमिटी सदस्य चित्रा बोहरा भागेर अपहरण र कुटपिटबाट जोगिएकी छन्। प्रहरीले मुकुण्डोधारी समूहको खोजी कार्य तीव्र पारेको छ।
भित्री मधेस क्षेत्र सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको प्रभाव क्षेत्रका रूपमा पनि लिइन्छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डडेल्धुराको उक्त घटनाको घोर भत्र्सना गरेको छ। घटना लगत्तै एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाको घोर भर्सना गरेको हो।
आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई अपहरण र कुटपिट गरी गम्भीर घाइते बनाएको घटनाले पार्टीको गम्भीर ध्यानार्कषण भएको नेकपा डडेल्धुराले जनाएको छ।

‘पार्टीले निर्धारण गरेको कार्यक्रममा जानेक्रममा भएको यस्तो कायरतापूर्ण घटनाको हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घोर भर्सना गर्दछ।’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), डडेल्धुराका सचिव वीरेन्द्रकुमार बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,‘गैर राजनैतिक तरिकाले आतंककारी शैलीमा गरिएको यस्तो घटनाले हाम्रो पार्टी र पार्टी कार्यकर्ताको मनोवलमा कुनै प्रकारको बिचलन आउने छैन र यस्ता प्रकारका घृणित क्रियाकलाप जो कसैले गरेको भएपनि आफैं जनता र समाजको अगाडि नाङ्गिने छन्।’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डडेल्धुराले यस्ता प्रकारका गतिविधि तत्काल बन्द गर्न सम्बन्धित पक्षलाई विज्ञप्तिमार्फत सचेत समेत गराएको छ। घृणित क्रियाकलापमा संलग्नलाई यथाशीघ्र खोजी कानुन बमोजिम हदैसम्म कारबाहीको माग समेत नेपाल कम्युनिष्ट पार्टी नेकपाले गरेको छ।




