एजेन्सी, ०९ माघ । अस्ट्रेलियामा फेरि डढेलो फैलिएको छ । डढेलो फैलिएर विमानस्थलको क्षेत्र नजिक आइपुग्न थालेपछि क्यानबेराको विमानस्थल बन्द गरिएको छ ।
अधिकारीहरुका अनुसार बिहीवार तापक्रम बढेपछि दक्षिण र पूर्वका क्षेत्रहरूमा फेरि डढेलो फैलिएको हो। डढेलो फैलिदै गएपछि विमानस्थलका सबै उडानहरू रद्द गरिएको जनाइएको छ।
डढेलो नियन्त्रण गर्न उडेको एउटा विमान राजधानीबाट दुई किलोमिटर टाढा रहेको स्नोइ माउन्टेन्समा दुर्घटनाग्रस्त भएको छ । न्यू साउथ वेल्समा १०० भन्दा बढी डढेलो लागिरको बताइएको छ।

क्यानबेरामा डढेलो विमानस्थल नजिकै आइपुग्न थालेपछि मानिसहरूलाई विमानस्थलमा आउन रोक लगाइएको जनाइएको छ। सिड्नी र मेलबर्नकोबीचमा रहेको क्यानबेराको सीमा क्षेत्रमा ठूला डढेलोहरू हप्तौँदेखि सकृय छन्।
अस्ट्रेलियाको डढेलोमा परी ३० जनाले ज्यान गुमाइसकेका छन् । त्यहाँ एक करोड हेक्टरभन्दा बढी क्षेत्रलाई डढेलोले विनाश गरेको जनाइएको छ।




