काठमाडौँ, ७ माघ । सात दिने भ्रमणमा रहेकी बेल्जियमकी राजकुमारी एस्ट्रिड र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलबीच शिष्टचार भेटवार्ता भएको छ ।
मंगलबार रक्षा मन्त्रालयमा भएको उक्त भेटमा रक्षामन्त्री पोखरेलले नेपाल र बेल्जियमबीच लामो समयदेखि घनिष्ठ एवं मैत्रीपूर्ण सम्बन्ध रहेको बताए। उनले दुई देशबीच व्यापार, लगानी तथा पर्यटनको विस्तारमार्फत थप फराकिलो, प्रगाढ र प्रतिफलमुखी बनाउन आवश्यक रहेको कुरा बताएका थिए।

भेटमा राजकुमारी एस्ट्रिडले नेपालमा हालका दिनमा राजनीतिक स्थिरता कायम भएकोमा खुसीव्यक्त गर्दै भ्रमण वर्षको सफलताको शुभकामना दिएकी थिइन्।यस्तै, उनले आफू अध्यक्ष रहेको डेमियन फाउण्डेसनले विश्व स्वास्थ्य संगठनसँगको सहकार्यमा नेपाल लगायतका मुलुकहरूमा कुष्ठरोग र क्षयरोगको निवारणका क्षेत्रमा महत्त्वपूर्ण कार्य गरिरहेको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने कुरा व्यक्त गरेकी थिइन्।
भेटमा राजकुमारीका श्रीमान्, बेल्जियमका लागि नेपालका राजदूत, रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।




