बाग्लुङ, ४ माघ । बाग्लुङ सिगानाका कृषकले सुन्तला बेमौसममा बिक्री गरी राम्रो आम्दानी गर्न सुरक्षित भण्डारणतर्फ अग्रसर भएका छन् । सिगानामा तीन वटा सुन्तला भण्डारण गृह छन् ।
advertisement
दुइ वटा पुराना र एउटा नयाँ गरी तीन वटा सुन्तला भण्डारण गृह भएको कृषकहरु बताउँछन् । तीन वर्षदेखि परम्परागत भण्डारण गृहमा सुन्तला राखेर बेमौसममा महँगो मूल्यमा सुन्तला बिक्री वितरण गर्दै आएका सिगानाका अगुवा कृषक टोपबहादुर खड्काले बताए । अर्का कृषक अनन्तबहादुर खड्काले गत वर्षदेखि सुन्तला भण्डारण गृह निर्माण गरेर बेमौसममा सुन्तला बिक्री गर्दै आएका छन् ।
सिगाना सुन्तलाका लागि प्रख्यात छ । सिगानालाई सुन्तला गाउँका रुपमा समेत चिनिँदै आइरहेको छ । वार्षिक दुई करोड बढीको सुन्तला उत्पादन हुँदै आएको भए पनि मौसममा तीव्र प्रतिस्पधाले सस्तो मूल्यमा किसानले सुन्तला बिक्री गर्न परेको भन्दै गण्डकी प्रदेश सरकारले २० टन क्षमताको विद्युत्बाट चल्ने सुन्तला चिस्यान केन्द्र ९कोल्ड रुम० निर्माण गरेपछि यहाँका अधिकांश कृषकले सुन्तला भण्डारण गर्न थालेका हुन् ।
गत वर्ष गण्डकी प्रदेश सरकारले सिगानामा क्रियाशील गणेश व्यावसायिक कृषि सहकारीमार्फत रु ३० लाखको लागतमा सुन्तला चिस्यान केन्द्र निर्माण गरेपछि यहाँका कृषकले उत्पादन भएका सुन्तला भण्डारण गरेर बेमौसममा बिक्री गर्न थालेका हुन् । आधुनिक सुन्तला चिस्यान केन्द्रमा अहिले सात जान कृषकको १६ टन सुन्तला भण्डारण गरिएको सहकारी संस्थाका अध्यक्ष रामबहादुर खड्काले बताए ।
“जसले एक वर्षमा रु दुई लाखभन्दा बढीका सुन्तला उत्पादन गर्छ, उसले उत्पादन गरेको केही सुन्तला मौसममा बजार पठाउछ”, खड्काले भने, “बाँकी सुन्तला सहकारीमार्फत चिस्यान केन्द्रमा राखेर चैत, वैशाखमा बिक्री गर्ने लक्ष्य राखेका छौँ ।” मौसममा किसानको बोटबाटै सुन्तला व्यापारीले प्रतिकेजी ५० देखि ६० मा बिक्री गर्दै आएकोमा सुरक्षित भण्डारण गर्नसकेमा चैत वैशाखमा प्रतिकेजी रु १५० भन्दा बढी मूल्य पर्ने भएकाले कृषक सुन्तला भण्डारणतर्फ अग्रसर भएका हुन् ।
जिल्लाको बागलुङ नगरपालिका–८ का कृषक टोपबहादुर खड्काले आठ रोपनी क्षेत्रफलमा व्यावसायिक सुन्तलाखेती गर्दै आएका छन् । उनले उत्पादन गरेका केही सुन्तला मौसममा नै बिक्री गर्नुहुन्छ भने केही सुन्तला बगैँचा नजिकै निर्माण गरिएको भण्डारणगृहमा राखेर चैत वैशाखमा महँगोमा बिक्री गर्दै आएका छन् ।
तत्कालीन कृषि विकास मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजनाअन्तर्गतको व्यावसायिक सुन्तला उत्पादन सङ्कलन तथा भण्डारण उपआयोजना ९प्याक्ट० कार्यक्रमले प्रदान गरेको रु १० लाख अनुदानमा २०७४ सालमा निर्माण गरिएको भण्डारणगृहमा अहिले सुन्तला राखिएको खड्काले बताए । “अहिले सुन्तालाको बजार मूल्य रु ६० प्रतिकेजी पर्दछ”, खड्काले भने, “दुई महिनापछि भण्डारणगृहमा राखिएको सुन्तलालाई रु १५० प्रतिकेजीमा बिक्री वितरण गर्न सकिने हुँदा यसको निकै महत्व छ ।”
यहाँका कृषकले सुन्तलाको ग्रेडिङसमेत गर्दै आएका छन् । सुन्तलालाई तीन श्रेणीमा ग्रेडिङ गरिन्छ । पहिलो श्रेणीको सुन्तलाको बजार मूल्य निकै महँगो हुने चिस्यान केन्द्रमा सुन्तला राखेका शिव खड्काले बताए । ग्रेडिङ गरेका सुन्तला पोखराको बजारमा खपत हुँन्छ ।
परम्परागत चिस्यान केन्द्रमा माटो, बालुवा तथा गिट्टीको समिश्रणमा ढुङ्गाको गाह्रो निर्माण गरिएको हुन्छ भने आधुनिक चिस्यान केन्द्र विद्युत्बाट सञ्चालन हुन्छ । दुवै प्रकारका भण्डारणगृहमा चार महिनासम्म सुन्तला सुरक्षित गर्न सकिने अर्का कृषक लोकबहादुर थापाले बताए । “अहिले जहाँतहीँ सुन्तला फल्ने भएका कारण सुन्तलाको मूल्य त्यति धेरै पर्दैन”, थापाले भने, “बेमौसममा धेरै मूल्य पार्नका लागि बागलुङ जिल्लाका अन्य किसानले आफ्नै घरमा पनि भण्डारणगृह बनाउन थालेका छन् ।”



