म्याग्दी, ०३ माघ । बेनी नगरपालिका–४ राक्सेका बह्माण–क्षेत्री समुदायका महिलाहरु नयाँ इतिहास कायम गर्न लागिपरेका छन् । बह्माण–क्षेत्री समुदायका महिलाले नौमती बाजा छुनुहुँदैन भन्ने परम्परागत मान्यतालाई तोड्दै छन् उनीहरु ।
advertisement
बारीका पाटामा सहनाई फुकिरहेकी अगुवा हीरा पाौडेलको नजिकै दुर्गा पौडेलले ढोलकी बजाउँदै थिइन् । सहनाई पञ्चेबाजामध्ये प्रमुख बाजा हो । घरायसी काम सक्ने बित्तिकै हतारहतार खेतमा पुग्ने गरेका यहाँका महिला दैनिकजसो दमाह, ट्याम्को, कर्णाल र नरसिङ्गाजस्ता विभिन्न थरीका बाजा सिक्न व्यस्त छन् ।
महिलाले बाजा छुन पनि हुँदैन भन्ने मान्यतालाई अन्त्य गर्न गाउँका बह्माण, क्षेत्री र दलित समुदायका महिला एकजुट भएर पञ्जे बाजा सिक्न जुटेका छन् । पश्चिम म्याग्दी जोड्ने बेनी–दरबाङ सडकखण्डअन्तर्गत राक्सेमा सडककै छेउमा रहेको बारीको पाटामा महिलाले बाजा बजाएको देखेर सडकमा सवारीसाधनमा आवतजावत गर्ने यात्रुले समेत अनौठो मान्ने गरेको पौडेलले बताउँछिन्।
उनले शुरुआतमा केही असहज भए पनि विस्तारै महिलाले सिक्न आर्कषित हुँदै आएको जानकारी दिइन् । “मैले सीप हस्तान्तरणको अभियानको रुपमा लिएको छु ।” उनले भनिन्, पुरुषले मात्रै बजाउने पञ्चेबाजामा महिलालाई समेत अब्बल बनाउन तालीममा सहभागी भएको झ्याली बाजा सिक्दै गरेकी शान्ति पौडेलले बताएन्।
महिला मात्र सहभागी नौमती बाजा समूह बनाई प्रकाश परियारले प्रशिक्षण दिइरहेका छन् । स्वागत तथा सम्मानलगायतका कार्यक्रम, मङ्गलधुन, दुलाहा अन्माउने, दुलहीको घरमा पुगेपछि, सिन्दूर हाल्ने, गोडा धुने, कन्यादान गर्ने बेलामा र दुलही अन्माउँदा, भित्र्याउँदा मङ्गलधुनका प्रस्तुति गर्ने कला प्रशिक्षणमा जानकारी गराइएको उनले जानकारी दिए ।



