पाकिस्तानका पूर्व शासक परवेज मुसरफलाई मृत्युदण्डको फैसला

`

     २०७६ पौष ०१ गते ४:२८

 

२०७६, पौष १, मङ्गलवार

पाकिस्तानको विशेष अदालतले पूर्व सैन्य शासक परवेज मुसरफलाई मङ्गलवार मृत्युदण्डको सजाय सुनाएको छ । उनलाई देशद्रोहको अभियोगमा सो सजाय सुनाइएको हो ।

सन् २००७ को नोभेम्बर ३ तारिख सङ्कटकाल घोषणा गरेकोमा उनी विरूद्घ देशद्रोहको मुद्दा लगाइएको थियो । मुद्दामाथि सन् २०१४ बाट सुनुवाइ सुरु भएको थियो । ७६ वर्षीय मुसरफले सन् २००७ मा देशमा सङ्कटकाल लगाउँदै संविधान निलम्बन र मुख्य पार्टीका वरिष्ठ नेता र न्यायाधीशलाई हिरासतमा राखेको बारे मुद्दा केन्द्रित थियो । इस्लामावादस्थित उच्च अदालतका प्रधानन्यायाधीश वकार अहमद शेदको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले मुसरफलाई देशद्रोहको मुद्दामा मृत्युदण्ड दिने फैसला गरेको हो ।

कुट्नीतिज्ञका छोरा समेत रहेका मुसरफ सन् १९६४ मा सेनामा प्रवेश गरेका थिए । सैनिक अधिकारीको रूपमा मुसरफले १९६५ र १९७१ मा भारतविरूद्घको युद्धमा लडेका थिए ।

मुसरफ अहिले दुबईमा स्व निर्वासित जीवन बिताइरहेका छन् । त्यहाँको अस्पतालमा उनको उपचार भइरहेको छ ।

आज विशेष अदालतले गरेको फैसलाबारे मुसरफको टिप्पणी आएको छैन । उनले आफूमाथि लागेको देशद्रोह र संविधान अवहेलनाको अभियोग भने अस्वीकार गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?