पाकिस्तानी प्रधानमन्त्री इमरान खान विभिन्न कारणले बेला बेलामा चर्चामा छाइरहने गर्छन् । यतिखेर भने उनी सरकारी सुविधाको रूपमा पाउने चिया र खाजा खर्च समेत कटौती गरेर चर्चामा आएका छन् ।
खासमा क्रिकेटको सुपरस्टार बनेदेखि उनको चर्चा चुलिन सुरु भएको हो । उनको एकपछि अर्को लोकप्रिय कदमले चर्चाको लहर झन् झन् चल्न थाल्यो । प्रधानमन्त्री भए लगतै उनले तीन कोठे सैनिक सचिवालयमा प्रधानमन्त्री कार्यालय सारेर उक्त कार्यालय रहेको अलिसान भवनमा क्याम्पस सञ्चालन गरे ।
इमरानले प्रधानमन्त्रीको सुरक्षाका लागि रहेको हेलिकोप्टर, ३३ बुलेट प्रुफ कारसहित ८० गाडी लिलामीमा राखे । दुई वटा गाडी मात्रै आफ्नो सचिवालयमा राखे । आफ्नो निवासमा कार्यरत ५२४ जना कर्मचारी कटौती गरेर २ जना मात्र राखे । प्रधानमन्त्रीका रूपमा आफूले पाउने चिया र खाजा खर्च सहित आफू सरह सरकारी कर्मचारीको तलब र विदेश भ्रमण खर्च पनि कटौती गरे ।

इमरान खान शान्तिवादी मानिन्छन् । उनले भारतलाई पटक पटक दुई देशबिचको द्वन्द्वको समाधान शान्तिपूर्ण मार्गबाट खोज्न आग्रह गर्दै आएका छन् । केही समय अघि भारत र पाकिस्तानबिच भएको गाली हानाहानको क्रममा पाकिस्तानी सेनाले भारतीय सैन्य जहाज खसालेर उक्त जहाजका विङ कमान्डर अभिनन्दनलाई कब्जामा लिएको थियो । उनै अभिनन्दनलाई बिना सर्त रिहा गरेर खानले शान्तिपूर्ण कुट्नीतिक क्षमता प्रदर्शन गरेका थिए ।
इमरान खानले पाकिस्तानलाई नयाँ पाकिस्तानमा रूपान्तरण गर्दै सफलतापूर्वक अघि बढेजस्तै नेपालका नेताहरूले पनि असुहाउँदो शान, मान, तडक भडक र लालची विलासिताको कर्म छोडेर इमरान खानको जस्तै आदर्श जीवनशैलीलाई आत्मसात् गरे साँच्चै नेपाल पनि नयाँ नेपाल बन्ने पक्का छ ।




