
आज देहरादूनमा बस्ने नेपाली भाषीले वीर बलभद्रको सम्झनामा विशेष कार्यक्रम गरेर पर्वको रूपमा मनाएका छन् । देहरादूनका नेपालीले हरेक वर्ष कार्यक्रम गरेर बलभद्रको सम्झना गरे पनि नेपालमा भने उनको कहीँ कतै सम्झना गरिँदैन ।
‘नालापानीमा जस्तो युद्ध कहीँ भएन, त्यसैले हरेक वर्ष गोर्खालीको वीरता र नालापानी युद्धलाई सम्झाउने गरेर कार्यक्रम गर्दछौँ’, गोर्खा डेमोक्रेटिक फ्रन्ट, देहरादूनका अध्यक्ष सूर्यविक्रम शाहीले भने ।
आज ऐतिहासिक नालापानीको युद्ध भएको दिन ४५ औँ पटक देहरादूनको खलङ्गामा मेला पनि मनाइएको छ । मेलामा नालापानी युद्धको बारेमा चर्चा परिचर्चा र विभिन्न सांस्कृतिक कार्यक्रम गरिएका छन् ।
नालापानीको युद्धमा अङ्ग्रेजको तर्फबाट लड्न आएका जनरल जिलेस्पी मारिएका थिए । खाना त के पानी पनि नखाई युद्ध लडेका बलभद्रको नेतृत्वका वीर नेपाली योद्धाहरूको सम्झनामा अङ्ग्रेजहरूले शिलालेख समेत स्थापना गरेका थिए, जहाँ लेखिएको छ, ‘हाम्रा वीर शत्रु बलभद्र र उनका गोर्खाली साथीहरूको सम्झनामा यो सम्मान उपहार’।




