
यतिखेर सामाजिक सञ्जाल निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको समर्थनले र प्रधानमन्त्री के पी ओलीको विरोधले भरिएको छ । आम नागरिकले भनिरहेका छन्, गोकर्ण विष्ट नायक हुन् उनलाई हटाउने निर्णय नालायक छ ।
मन्त्रीहरूको सही कार्य सम्पादनको मूल्याङ्कन गरेर भनिए पनि खासमा उक्त मूल्याङ्कन नगरी प्रधानमन्त्रीले मन्त्रिपरिषद् हचुवाको तालमा पुनर्गठन गरेको भनेर आम जनताले यतिखेर प्रधानमन्त्री के पी ओलीको चौतर्फी विरोध गरिरहेका छन् । सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री गोकुल बास्कोटा, सेयर बजार प्रति नकारात्मक धारणा व्यक्त गर्दै आएका अर्थ मन्त्री डा युवराज खतिवडा र प्रचण्ड बुहारी बिना मगर कसरी सक्षम भए अनि गोकर्ण विष्ट कसरी असक्षम भए भनेर सबैले ओलीलाई प्रश्न सोधिरहेका छन् ।
मन्त्रीहरूलाई बिदा गर्नुको कारणमा कार्यसम्पादन चित्तबुझ्दो नभएको भनिएको छ तर, कार्यसम्पादन मूल्याङ्कनमा नै अगाडि रहेका मन्त्री विष्टले भने मन्त्री पद गुमाउन पुगेका छन् ।
विष्टले गरेका राम्रा कामका केही उदाहरणहरूः
- लथालिङ्ग र दयनीय अवस्थामा रहेको वैदेशिक रोजगारीलाई व्यवस्थित गरे
- मलेसिया जाने कामदारसँग विभिन्न शीर्षकमा मनपरी लिइने शुल्क हटाए
- ठगीको आरोप लागेका वैदेशिक रोजगार सञ्चालकलाई धरपकड र मुद्दा समेत लगाइयो
- मलेसिया रोजगारीमा जाने नेपाली कामदारबाट एक रुपियाँ पनि लिन नपाउने व्यवस्था गरे । त्यसै गरी शून्य लागतमा नै जापान र दुबई कामदार पठाउने सम्झौता गरे ।
- उक्त मुलुक जाने नेपालीका लागि सम्पूर्ण लागत खर्च र म्यानपावर कम्पनीको कमिसन रोजगारदाता बाटै बेहोर्ने श्रम सम्झौता गरे
- मलेसिया जाने सम्पूर्ण नेपाली कामदारले त्यहीको नागरिक अनुसार सेवा सुविधा पाउने महत्त्वपूर्ण निर्णय गराए
- म्यानपावर कम्पनिको धरौटी र बैङ्क ग्यारेन्टीको व्यवस्था गरे । वैदेशिक रोजगारीका क्रममा कामदार ठगिएर पीडित भएमा सोही धरौटी र बैङ्क ग्यारेन्टीबाट असुल गर्न मिल्ने भयो ।
यसरी म्यानपावर कम्पनीहरूलाई नेपाली कामदारहरूको हित अनुसार चल्नुपर्ने प्रणाली विकास गरेपछि असिन पसिन बनेका म्यानपावर व्यवसायीहरू प्रधानमन्त्रीकोमा धाउने तथा उनका सल्लाहकार र सचिवालयमा रहेका व्यक्तिहरूलाई अनावश्यक दबाब र प्रभावमा पार्ने काममा कसरत व्यग्र ढङ्गले गर्दै आएका थिए । यस्तो दबाबमा परेर प्रधानमन्त्री के पी ओलीले नीति र विधि सङ्गत कुरासँग बाझिने गरी कतिपय हचुवाको तालमा व्यक्तिगत निर्देशनहरू विष्टलाई दिने गर्थे । यस्ता कुरा मन्त्री विष्ट मान्दैनथे ।
विष्टले ल्याएका सामाजिक सुरक्षा कार्यक्रम नेपालमा नयाँ युगको सुरूआत भन्दै बिजुलीका पोल पोलमा प्रधानमन्त्री ओलीको तस्बिर टाँस्ने काम समेत भएको थियो ।
अन्ततः म्यानपावर सञ्चालकहरू रहेको ‘माफिया’ हरूको कुटिल चालको गोटी बनेर प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कार्यालयकै मूल्याङ्कनमा उच्च अङ्क पाएका विष्टलाई कमजोर कार्य सम्पादन भनेर मन्त्रीको लिस्टबाट हटाउन पुगे । जुन मन्त्रीको कामलाई गर्वका साथ लिएका थिए, उनै मन्त्रीलाई भने प्रधानमन्त्रीले हटाइदिए ।
मन्त्री विष्टलाई हटाइएपछि रातारात होटेलहरू म्यानपावर व्यवसायीका ककटेल पार्टीले भरिएका छन् भने सामाजिक सञ्जाल प्रधानमन्त्री के पी ओलीको विरोधले भरिएका छन् ।
मन्त्री छँदा जति काम गर्न सके त्यतिमा सन्तुष्ट रहेको बताउँदै मौरी झैँ परिश्रम गरेर काम गरेको विष्टले बताएका छन् ।
बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नभए पनि श्रमिक कामदारको पक्षमा भोलिका दिनमा पनि यसरी नै समर्पित भएर काम गरिरहने प्रतिवद्घता विष्टले व्यक्त गरेका छन् ।
माफियाहरूको चङ्गुलमा परेर प्रधानमन्त्रीले एकजना साँच्चै राष्ट्रलाई बदल्ने साहस र सिप भएका मन्त्रीलाई अपमानजनक ढङ्गले बिदा गरेकोमा सामाजिक सञ्जाल मार्फत सबै नेपाली नागरिकले तिब्र विरोध गरिरहेका छन् ।




