
काठमाडौं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उधृत गर्दै इस्लामिक स्टेटका प्रमुख अल–बग्दादी मारिएको विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् । ती सञ्चार माध्यमहरूका अनुसार बग्दादी अमेरिकी स्पेसल फोर्सको कारबाहीमा मारिएका हुन् ।
सिरियाबाट अमेरिकी फौज फिर्ता बोलाउने निर्णय गरेका कारण व्यापक आलोचना खेप्दै आएका ट्रम्पका लागि यो निकै ठुलो आकस्मिक उपलब्धि बनेको छ ।
बग्दादी भएको ठाउँमा सुरुङ नै सुरुङ थिए । जब त्यस ठाउँमा अमेरिकी स्पेसल फोर्स पुगे बग्दादी भाग्न थाले । उनलाई अमेरिकी जासुसी कुकुरले पछ्याउन थाले । अन्तमा बग्दादी यस्तो बिन्दुमा पुगे जहाँबाट भाग्ने ठाउँ थिएन । केही उपाय नलाग्ने देखेपछि कम्मरमा बाँधिएको विस्फोटक पदार्थ विस्फोट गराए र आफैँलाई मारे ।
बग्दादी मारिए पनि आइएस आइएस नसिद्धिएको ब्रिटेन लगायतका देशले बताउँदै आएका छन् भने फ्रान्सले उक्त आतंककारी विद्रोहलाई निर्णायक रूपमा समाप्त पार्न निरन्तर सहकार्य गर्ने जनाएको छ ।
बग्दादी मारिएको पुष्टि
डी एन ए परीक्षण गर्ने विज्ञहरूको टोली ल्याब सहित अमेरिकी स्पेसल फोर्ससँगै उपस्थित थिए । जनाइए अनुसार मारिएका व्यक्ति बग्दादी नै हुन भन्ने कुरा डी एन ए परीक्षणबाट पुष्टि भइसकेको छ ।

बग्दादी मारिएको ठाउँ, तश्विरः एपीएफ
बग्दादी मारिएको पुस्ट्याँइको खबर आउँदै गर्दा उनी मारिएको समाचार बेला बेलामा आउने गरेको र उनी मारिएको पुष्टि गर्ने भरपर्दो फुटेज र प्रमाणहरू सबैले स्पष्ट देख्ने गरी प्रसारणमा नआएकोले ‘उनी मारिएकै हुन् त?’ भन्ने प्रश्न गर्ने आधार भने अझै जीवितै रहेको भान हुन्छ ।
आइएस आइएसको जन्म कसरी भयो?
मिडल इष्टमा ईश्वर (अल्लाह) को प्रतिनिधिबाट यही समयमा ईश्वरीय राज्य ‘खालिफा’ निर्माण र शासन हुने भन्ने कुरा इस्लामिक ग्रन्थमा उल्लेख छ भन्ने एकतर्फी रूढीवादी व्याख्या र कट्टर विश्वास बाट आइएस आइएस को जन्म भएको थियो । त्यसै अनुसार आइएस आइएसको आह्वानमा संसारभर बाट दशौँ हजार इश्लामवादी कट्टरपन्थीहरू सो समूहमा सामेल हुन मिडल इष्ट (सिरिया, इराक) पुगेका थिए । २०१४ मा मोसुलबाट बोल्दै बग्दादीले सिरिया र इराकको भू–भाग समेटेर ‘खालिफा’ को घोषणा समेत गरेका थिए भने आइएस आइएसले उनै बग्दादीलाई ईश्वरको प्रतिनिधि घोषित गरेको थियो ।
आइएस आइएसको क्रूरता
आइएस आइएसको क्रूरताको कुनै सीमा थिएन । यसले आफ्नो बर्बरतापूर्ण शासन ८० लाख मानिसमाथि प्रत्यक्ष रूपमा लाद्यो । अनगिन्ती मानिसको दिनहुँ हत्या ग¥यो, बलात्कारको कुनै सीमा थिएन । उसले सांस्कृतिक धरोहरहरू नष्ट ग¥यो । तेल बिक्री, चन्दा असुली, फिरौती एवम् लुटपाट बाट अरबौँ डलर कमायो । अहिलेसम्ममा आइएस आइएसको कारण लाखौँ मारिएका छन् भने लाखौँ विस्थापित भएका छन् ।

ट्रम्पको लागि राजनीतिक अवसर
बग्दादी मारिनु ट्रम्पको लागि एक अर्को राजनीतिक अवसर बन्नु हो । जर्ज डब्ल्यू बुशले आफू पुनः निर्वाचित हुनु अघि इराकमा अतिक्रमण पुरा गरेका थिए भने बाराक ओबामाले आफू पुनः निर्वाचित हुनुअघि ओसामा विन लादेनलाई मारेका थिए ।
विश्लेषकहरूका अनुसार आफ्ना पुर्ववर्तीहरू क्रमशः जर्ज डब्ल्यू बुश र ओबामाको हकमा जस्तै बग्दादी मारिनु ट्रम्प आफू पुनः निर्वाचित हुनु अघिको निर्णायक घटना मान्दछन् ।




