काठमाडाैं, १४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिबार बालुवाटामा भएको संवादबारे टिप्पणी भएको भन्दै नेकपा उपाध्यक्ष वामदेव गौतमले आइतबार वक्तव्य जारी गरेका छन् ।
प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन र बालकोट गएर आराम गर्न उनले ओलीलाई सुझाब दिएको समाचार आइतबार विभिन्न सञ्चारमाध्यममा प्रकशित भएको थियो । गौतमले यी समाचार विवरणको भने खण्डन गरेका छैनन् ।
‘हिजो १३ गते प्रधानमन्त्री केपी ओली र मेराबीच भएका कुराकानीका सम्बन्धमा मनमौजी किसिमले टीका–टिप्पणी भएको मैले पाएँ । पार्टीभित्र, पार्टी र सरकारकाबीच, अनि अन्य पार्टी र सरकारकाबीच उत्पन्न समस्या समाधान कसरी गर्ने भन्ने सम्बन्धमा छलफल भएको थियो,’ उनले वक्तव्यमा भनेका छन् ।

समय र परिस्थितिप्रतिकूल जारी भएका अध्यादेश खारेज भएपछि पनि पार्टीभित्र समस्या रहेको र ती समस्या समाधान गर्न पार्टीकाे बैठक बोलाउनुपर्ने अडान उनले वक्तव्यमा पनि दोहोर्याएका छन् । नेकपा स्थायी समितिका २० सदस्यले समितिको बैठक अविलम्ब बोलाउन माग गर्दै दुवै अध्यक्षलाई लिखित पत्र बुझाएका थिए ।
तर, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली तत्काल बैठक बोलाउने पक्षमा छैनन् । गौतमले भनेका छन्, ‘समय र परिस्थितिप्रतिकूल जारी अध्यादेशहरू खारेज गरिएपछि पनि अनेकौं समस्या पार्टीभित्र उत्पन्न भएका छन् । यी समस्या समाधान पार्टी र पार्टी कमिटीलाई बाइपास गरेर होइन, प्रधानमन्त्रीले प्रत्यक्ष छलफल गरेर र सबै किसिमका विचारहरूको सामना गरेर मात्र गर्न सकिन्छ ।’
सचिवालय, स्थायी कमिटी र आवश्यक परे केन्द्रीय कमिटीको बैठक बोलाउन पार्टी अध्यक्ष ओलीलाई सुझाब दिएको पनि उनले बताएका छन् ।
सबभन्दा पहिले सचिवालय बैठक बोलाउन र सबै कमरेडहरूको सुझाबलाई सम्मान गर्दै साझा प्रयत्नबाट समस्या समाधान गर्न आफूले दिएको सुझाब प्रधानमन्त्रीले धैर्यतापूर्वक सुनेको उनको भनाइ छ ।
वामदेव गौतमको प्रेस वक्तव्य :
हिजो (१३ गते) प्रधानमन्त्री क. केपी ओली र मेराबीच भएका कुराकानीका सम्बन्धमा मनमौजी किसिमले टीका–टिप्पणी भएको मैले पाएा । पार्टीभित्र र पार्टी र सरकारका बीच, अनि अन्य पार्टी र सरकारका बीच उत्पन्न समस्या समाधान कसरी गर्ने भन्ने सम्बन्धमा छलफल भएको थियो ।
समय र परिस्थितिप्रतिकूल जारी अध्यादेशहरू खारेज गरिएपछि पनि अनेकौं समस्या पार्टीभित्र उत्पन्न भएका छन् । यी समस्या समाधान पार्टी र पार्टी कमिटीलाई बाइपास गरेर होइन, प्रधानमन्त्रीले प्रत्यक्ष छलफल गरेर र सबै किसिमका विचारहरूको सामना गरेर मात्र गर्न सकिन्छ ।
तसर्थ, सचिवालय, स्थायी कमिटी र आवश्यक परे केन्द्रीय कमिटीको बैठक बोलाउनुस् । सबभन्दा पहिले सचिवालय बैठक बोलाउन र सबै कमरेडहरूको सुझाबलाई सम्मान गर्दै साझा प्रयत्नबाट समस्या समाधान गर्नोस् भनेर मैले प्रधानमन्त्रीलाई सुझाब दिएको हुा ।
उहाँले धैर्यतापूर्वक मेरो सल्लाह सुन्नुभयो, थोरै बोल्नुभयो, म बिदा भएर आएँ । भएको यत्ति हो । सबैलाई यही जानकारी लिन विनम्र अनुरोध गर्दछु ।
वामदेव गौतम
उपाध्यक्ष
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)
१४/०१/२०७७




