काठमाडौं, १३ वैशाख । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष (नवगठित जनता समाजवादी पार्टी नेपालका नेता) डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली प्रवृत्तिलाई चिनौं र इतिहासबाट छिटो विदा गरौं भनेका छन् ।
भट्टराईले सामाजिक संजाल फेसबुकमार्फत भनेका छन्,”प्रधानमन्त्रीको यो भष्मासुर प्रवृत्ति हो भन्दै उनले यस्तो भनेका छन्, हिन्दू मिथकमा भष्मासुर भन्ने रा़क्षसले महादेवबाट उसले जसको टाउकोमा हात राख्यो उ जलेर भष्म हुने वरदान पाउँछ तर उसले पछि ऋषिहरू कुनै शास्त्रमा महादेव स्वयमको टाउकोमा हात राख्न खोजेपछि विष्णुले अति सुन्दर मोहिनी रूप धारण गरेर उसलाई नृत्यमा लठ्याउँदै आफनै टाउकोमा हात राख्न लगाएर उसको वध गर्छन् ।”
भट्टराईले ओली प्रवृत्तिले अहिले नेपाली जनता र नेकपा पार्टीको वरदानले सत्तामा पुगेर त्यसको चरम दुरूपयोग गर्दै आफ्नै पार्टीका नेता,सांसद,विपक्षी दल, मिडिया,नागरिक अभियन्ता र आम जनता सबैको टाउकोमा हात राख्ने र आतंकित पार्ने हर्कत गरिरहेछ आरोप लगाएका छन् ।

ओलीको यो हिटलर प्रवृत्ति भन्दै भट्टराईले जर्मन चान्सलर हिट्लरले कथित आर्य नस्लका शुद्ध जर्मन बाहेक यहूदी लगायत अन्य प्रति चरम घृणा र त्यसको जगमा जर्मन अन्धराष्ट्रवादको क्षणिक उन्माद जगाएर सत्ता प्राप्त गर्ने र अन्ततस् दोश्रो विश्वयुद्ध जन्माएर करोडौं मान्छेको ज्यान लिएको इतिहास ताजै रहेको बताएका छन्।
नेपालमा पनि ओली प्रवृत्तिले मधेसी लगायतका उत्पीडित जाति र समुदायप्रति चरम घृणा र त्यसको जगमा एकल जातीय अहंकारवाद तथा अन्धराष्ट्रवादको खाँडो जगाएर सत्तामा पुग्ने र अहिले चौतर्फी वितण्डा मच्चाएर देशका सबै लोकतान्त्रिक संस्था ध्वस्त पार्दै र राज्यको अपराधीकरण गर्दै चरम संकटको स्थिति सिर्जना गरिरहको भट्टराईको भनाइ रहेको छ।

भट्टराईले प्रधानमन्त्री ओलीलाई स्टालिनसंग तुलना गरेका छन् । उनले रूसी बोल्सेभिक क्रान्तिमा लेनिन पछिको अतुलनीय योगदान गरेका स्टालिनले सत्तामा पुगेपछि सम्पूर्ण शक्ति आफ्नो हातमा केन्द्रित गरेर कम्युनिष्ट पार्टीका सबै विधिविधान र आन्तरिक जनवाद नष्ट गरेको स्मरण गरेका छन् ।
भट्टराईले अब छिटो भन्दा छिटो सबै पार्टीहरू,संसद,अदालत,मिडिया,नागरिक अभियन्ता र आम जनताको सक्रियतामा ओलीलाईहटाउनुपर्ने बताएका छन् । उनले ओली प्रवृत्ति भाइरस कोरोनाभइरस भन्दा ख़तरनाक रहेको भनेका छन् । ओली प्रवृत्तिलाई सदाका लागि विदा नगरे सबैलाई सखाप पार्ने भट्टाराइले जनाएका छन् ।

सरकारले सोमबार जारी गरेको दलबदल र संवधानिक परिषद्सम्बन्धी दुई अध्यादेशको चर्को विराध हुँदै आएको छ । यस्तै बाबुराम भट्टराइले पनि चर्को विराध गर्दै आएका हुन्। हिजो पनि भट्टराईले प्रधानमन्त्री ओलीले समाजवादी पार्टीलाई हानेको अध्यादेश गोली आफै तिर फर्किएको बताएका थिए । उनले त्यतिमात्र होइन ओली कुर्सीमा रहुन्जेल लोकतन्त्रमाथि खतरा रहिरहने पनि बताए ।
चर्को आलोचना भएपछि शुक्रबार बालुवाटारमा बसेको मन्त्रीपरिषदको बैठकले उक्त अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । अध्यादेश फिर्ता लिने निर्णयको भोलिपल्टा पनि बाबुरामले विरोधलाई जारी नै राखेका छन् । उनले ओलीलाई कुर्सीबाट हटाउन सबैसंग अग्रह गरेका छन् ।




