काठमाडौं, २९ चैत । कोरोनाले निम्त्याएको महामारीको कारण इटालीमा लकडाउनको समय २१ दिन लम्बिएको छ ।
इटालीका प्रधानमन्त्री गिउसेपे कोन्टेले मुलुकमा जारी रहेको लकडाउनको समय मे ३ सम्मका लागि लम्ब्याएका हुन् ।
इटालीमा मार्च ९ मा पहिलोपटक मुलुकमा लकडाउनको घोषणा गरिएको थियो । यो लकडाउन अप्रिल ३ सम्मका लागि घोषणा गरिएको थियो ।

पछि यो लकडाउनको समय १३ अप्रिलसम्म लम्ब्याउने निर्णय गरिएको थियो अझै पनि इटालीमा कोरोना भाइरस कोरोनाको महामारी नरोकिएको कारण यसलाई थप २१ दिन बढाएर मे ३ सम्म लम्ब्याउने निर्णय गरिएको हो ।
हाल इटालीमा १ लाख ४७ हजार ५७७ कुल सङ्क्रमित भएका छन् भने, १८ हजार ८ सय ४९ को ज्यान गइसकेको छ । यसैबीच ३० हजार ४५५जना निको भएर फर्किएका छन् ।




