काठमाडौं, १९ चैत । सरकारले कोरोनाभाइरस (कोभिड-१९) को उपचारको लागि फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी र चिकित्सकलाई सय प्रतिशत भत्ता दिने भएको छ।
साथै फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीलाई सघाउने जनशक्तिलाई पनि पचास प्रतिशत भत्ताको व्यवस्था रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए।
‘सरकारले कोरोना उपचार गर्नको देशभर अस्पतालहरू तोकेको छ। यो सुविधा त्यहाँ खट्ने स्वास्थ्यकर्मी र अन्य जनशक्तिले पाउनुहुन्छ,’ उनले भने।
सरकारले देशभर २५ वटा अस्पताललाई कोरोनाको उपचार गर्नलाई हब अस्पताल घोषणा गरेको छ। त्यस्तै, कोरोनाको उपचार गर्न प्रदेश स्तरीय अस्पतालहरूको रूपमा जिल्ला अस्पतालहरूलाई तोकिएको छ।

प्रदेश-१ मा १३, प्रदेश-२ मा ५, बागमती प्रदेशमा १० र गण्डकी प्रदेशमा १० वटा जिल्ला अस्पताललाई कोरोना उपचार गर्ने अस्पताल तोकिएको छ। त्यस्तै प्रदेश-५ मा ९, कर्णाली प्रदेशमा ८ र सुदूरपश्चिम प्रदेशमा पनि ८ वटा जिल्ला अस्पतालाई तोकिएको छ।
सरकारले देशभरबाट २० वटा मेडिकल कलेजलाई पनि कोरोना उपचार गर्ने अस्पतालको रूपमा तोकेको छ।
यसअघि कोरोना रोकथाम तथा नियन्त्रणको लागि गठित उच्च स्तरीय समन्वय समितले कोरोना उपचारमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई असार मसान्तसम्म नि:शुल्क २५ लाखको बीमा तथा क्षतिपूर्तिको व्यवस्था रहने निर्णय गरेको थियो।
प्रवक्ता देवकोटाले सरकारले कोरोना उपचार गर्न तोकेको हब अस्पतालहरूलाई आपतकालीन खर्चको लागि १० लाख रुपैयाँ वितरण गरेको पनि जानकारी दिए। साथै सरकारले निजी अस्पतालहरूलाई कोरोना संक्रमितको उपचारमा लागेको खर्च बुझाउन पनि भनेको छ।
‘अहिले निजी अस्पतालहरूले संक्रमितको उपचार गर्नुपरेको छैन। त्यो भयो भने संक्रमितको खर्च सरकारले व्यहोर्छ,’ देवकोटाले भने।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले यसअघि नै कोरोना संक्रमितको उपचारमा लागेको सबै खर्च सरकारले व्यहोर्ने बताएका थिए। अहिलेसम्म नेपालमा ५ जना कोरोना संक्रमित रहेकोमा पहिलो संक्रमित निको भएर घरमा छन्।
बाँकी चारजना आइसोलेसनमा उपचाररत छन्। जसमा दुईजना टेकु अस्पताल, एक जना सेती प्रादेशिक अस्पताल धनगढी र एक जना धौलागिरी अञ्चल अस्पताल बाग्लुङमा छन्। ती सबैको उपचार खर्च सरकारले नै व्यहोर्नेछ।




