काठमाडौं, १३ चैत । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड–१९ बाट बच्न र बचाउन नेपाल सरकारले पूरै देशलाई लकडाउन गरेको छ ।
लकडाउनको समयमा घरबाहिर निस्कन नपाइने भनिएको छ । यस्तो गर्दा काम गर्दै छाक टार्नेहरु भोक – भोकै ज्यान गुमाउनु पर्ने अवस्था नआउला भन्न सकिन्न । विहान काम गरेर बेलुकाको छाक टार्न बाध्य भएकाहरु रोगबाट भन्दा पनि भोकबाट ज्यान गुमाउनु पर्नसक्ने अवस्था सिर्जन हुनसक्छ । यसमा भने सरकारको ध्यान गएको देखिदैन । सरकारको नजर सबै जना घरभित्र छन् की छैनन् भन्नेमामाथि मात्र छ ।
मकवानपुर जिल्लामा भने लकडाउनको समयमा भोकबाट ज्यान गुमाउन नपारोस भन्दै मकवानपुरका समस्या समाधान तथा सम्वाद समिति ईस्टु मकवानपुरले हेटौंडा उपमहानगरपालिका ४ का वडा अध्यक्ष नवीन सिग्देललाई निवेदन लेखेको छ । समस्या समाधान तथा सम्वाद समितिले वडा अध्यक्षको सक्रियता र भोक निषेधित क्षेत्र घोषण गर्नेबारे निवेदन लेखिएको हो ।

एसके निधनले निवेदनमा लेखिएको छ, ‘विश्व कोरोना त्रासमा छ।सरकारले देशब्यापी लकडाउन घोषणा गरेको छ । जनताले सरकारको निर्णय पालना नगर्नुको विकल्प छैन।हामी सबै वडाबासी पनि घर भित्रै छौ।तर यो समय समाचार सुन्ने र सामाजिक सञ्जालको डाटा अपडेट गर्ने मात्रै होइन । घर भित्र बस्नु पर्दाको पीडा महसुस गर्ने बेला पनि हो। साथमा नगद हुने र खाधान्न संचित हुनेलाई रोगको मात्रै चिन्ता होला तर भोकको चिन्ता हुनेको बिजोग मनन गरौँ।रोगले मर्नु भन्दा भोकले मर्नु भयावह स्थिीत हो।’
स्थानीय सरकारको नाताले वडाबासी वडाध्यक्षको सक्रियता अपेक्षा गरेको निवेदनमा उल्लेख छ । रोग रोक्ने हैसियत र क्षमता नभएपनि प्रतिरक्षात्मक अवस्थामा घरमै बसेका वडा बासी र उनका सन्तान भोकले छटपटिनु पर्ने अवस्था आयो भने त्यसको समाधान भने गर्न सक्ने जनाइएको छ ।
यस्तो अवस्था आउन नदिनु कर्तव्य मात्रै होईन सामाजिक उत्तरदायित्व पनि रहेको बताइएको छ । यसैले वडा भित्र दैनिक ज्यालादारी गर्ने ती परिवारको तथ्यांक निकाल्नुहोस् निवेदनमार्फत भनिएको छ । समस्या समाधान तथा सम्वाद समिति ईस्टुले जसको घर वा कोठामा पेटभरी खान पुग्ने खाधान्न छैन उनीहरुको विवरण तयार पार्न वडाअध्यक्षलाईअनुरोध गरेको छ ।




