विश्व मौसम सङ्गठनका अनुसार तापक्रम बृद्घि नरोके सन् २०१९ भित्रै २ करोड २० लाख मानिस घरबार विहीन हुनेछन् । तापक्रम बृद्घिले विश्वको भविष्य अनिश्चित बन्दै गएको छ ।
तापक्रम बृद्घिको कारण हुने जलवायु परिवर्तनले हिमाल र हिमनदी पग्लने, हिमतालको आकार बढेर विस्फोट हुने, मौसम फेरबदल हुने र जनजीवनमा प्रत्यक्ष असर पने हुन्छ ।
यतिखेर जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न सकिने उपायको खोजी गर्न विश्वभरका सरकारी प्रतिनिधि, राजनीतिज्ञ, कूटनीतिज्ञ, विशेषज्ञ र अनुसन्धानकर्ता स्पेनको म्याड्रिडमा भेला भएका छन् । सम्मेलनका सम्पूर्ण सहभागी प्रतिनिधिले पेरिस सम्झौताको दफा ६ मा रहेको व्यवस्था कार्यान्वयन गर्न सबै क्रियाशील हुनुपर्नेमा जोड दिएका छन् । सन् २०१५ मा फ्रान्समा जलवायु परिवर्तन न्यूनीकरणका लागि गरिएको पेरिस सम्झौतालाई अहिलेसम्मकै वातावरणीय समस्या समाधानको क्षेत्रमा कोसेढुंगा मानिन्छ ।
तापक्रम वृद्धि गराउन मुख्य भूमिका खेल्ने हतिरगृह ग्यासको उत्सर्जनको मात्रा बढिरहेको छ । नेपाल वार्षिक ०.००२७ प्रतिशत मात्र हतिरगृह ग्यास उत्सर्जन गर्ने देशमा परेपनि जलवायुजन्य जोखिमका हिसाबले चौथो स्थानमा पर्छ । सबभन्दा बढी हरितगृह ग्यास उत्सर्जन गर्ने मुलुक चीन हो । चीनपछि उच्च हतिरगृह ग्यास उत्सर्जन गर्ने मुलुकमा अमेरिका पर्छ तर उक्त देशले पेरिस सम्झौताबाट अलग भएको घोषणा गरिसकेको छ, जुन अत्यन्तै दुर्भाग्यपूर्ण छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनका कारण निम्तिएका समस्यालाई अस्वीकार गर्दै आएका छन्, जुन उनको अन्धोपन हो ।



