चुनावपछि सरकारको नेतृत्व वैकल्पिक शक्ति मिलेर गर्नुपर्छ: कुलमान घिसिङ
काठमाडौं, २९ मङ्सिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्ने बताएका छन् । काभ्रेपलाञ्चोकको बनेपामा आज आयोजित उज्यालो नेपाल पार्टीको जिल्ला भेलामा उनले विकल्पिक शक्ति बन्ने भनेर आएका सबै मिलेर अगाडि बढ्नुपर्ने र त्यसको अगुवाई उज्यालो नेपाल पार्टीले गर्नुपर्ने बताए ।
मन्त्री घिसिङले पार्टीमा सबैलाई जोड्दै अगाडि बढ्नसमेत नेतृत्वलाई आग्रह गर्दै काम गर्दा चुनौती आउने र त्यसलाई सामना गरेर अगाडि बढ्न सकेमा नै परिवर्तन सम्भव हुने बताए । ‘जेनजी पुस्ताको आन्दोलनपछि जुन हिसाबले यो सरकार परिवर्तन भएको छ, यसले गर्ने निर्वाचन पछिको सरकार कस्तो हुने भन्ने कुरा झन् महत्त्वपूर्ण छ । त्यो सरकारको नेतृत्व वैकल्पिक शक्ति भन्नेहरु सबै मिलेर गर्नुपर्छ । उज्यालो नेपाल पार्टीले त्यसको अगुवाइ गर्छ,’– उनले भने ।




