बालेन्द्र शाह प्रमुख भएपछि २ सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता
काठमाडौँ, २९ मङ्सिर । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको बताएका छन् ।
यहाँ आज आयोजना गरिएको कामपाको ३१औँ स्थापना दिवसको अवसरमा प्रमुख शाहले कामपाको लक्ष्य दुई खर्ब बराबरको एक हजार आठ सय ५९ रोपनी सार्वजनिक अतिक्रमण जग्गा फिर्ता गर्नुरहेको जानकारी दिए । उनले ९१ करोड लागतको सम्पदा संरक्षणको काम गरेको बताए । दश केन्द्रलाई बिमाको प्रथम सेवा केन्द्रको रुपमा तोकिएको उनले जानकारी दिए ।
पाँच अर्ब चार करोडको लागतमा दुई सय ५१ योजना बोलपत्र प्रक्रियामार्फत खरिद गरिएका प्रमुख शाहले बताए । उनका अनुसार धुलोरहित सडक कार्यक्रमअन्तर्गत ५५ किलोमिटर सडक सुधार सम्पन्न भएको छ ।




