काठमाडौँ, २३ मङ्सिर । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीले महिलामाथि राजनीतिक हिंसा गरेको आरोप लगाएकी छन् ।
पूर्वराष्ट्रपति विद्या भण्डारीप्रति अपमानजनक शब्द प्रयोग गर्दै समग्र महिलाकै अपमान गरेको आरोप लगाएकी हुन् ।
आगामी महाधिवेशनमा अध्यक्षको प्रत्याशी रहेका ईश्वर पोखरेल समूहले मंगलबार काठमाडौँमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै शाक्यले यस्तो आरोप लगाएकी हुन् ।
‘एउटा महिलालाई कसरी सम्मान गर्नुपर्छ भन्नेबाट कुरा सुरु गर्नुपर्छ’, उनले पुष्पलाल र दुर्गादेवीको स्मरण गर्दै त्यही हौसलाले महिलाहरू एमालेको राजनीतिमा लागेको बताइन् ।
उनले सामाजिक रूपान्तरणमा योगमायादेखि साहाना प्रधानसम्मको योगदानले अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएको बताइन् ।
‘एउटा पूर्व राष्ट्रपतिलाई धामी, झाँक्री भनेको के हो ?,’ यस्तो अपमान गर्न पाइन्छ ? सामान्य मान्छेलाई त गर्न पाइँदैन, अझ पूर्व राष्ट्रपतिलाई यो शब्दले अपमान गर्न पाइन्छ ?’, शाक्यले ओलीप्रति प्रश्न गरिन् ।




