काठमाडौं, २६ असोज । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले उनलाई ललितपुर–२६ खुमलटारबाट पक्राउ गरेको हो ।
सुन तस्करी प्रकरण (इलेक्ट्रिक सिग्रेट) प्रकरणमा उनी पक्राउ परेका हुन् । ‘७३० थान (सुन सहितको) ईलेक्ट्रिक सिगरेट (Vapes) मा रहेको मूल्य रु.८,५५,२८,३७४ (आठ करोड पचपन्न लाख अठ्ठाईस हजार तीन सय चौहत्तर) बराबरको सुन वेचबिखन गरी आपराधिक समूह बनाई संगठित रुपमा आपराधिक लाभ लिएको देखिएकोले भन्सार ऐन, २०६४ तथा आपराधिक लाभ र संगठित अपराधमा संलग्न रहेका रविचन महराको छोरा रोल्पा जिल्ला साविक लिवाङ गा.वि.स. वडा नं. ७ घर भई हाल ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. २६ खुमलटार बस्ने वर्ष ६८ को कृष्ण बहादुर महरालाई आज मिति २०८२\०६\२६ गते पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको,’–सीआईबीका सूचना अधिकारी शिव कुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।




