झापा, १७ भदौ । नेपाल चिया उत्पादक सङ्घ र श्रमिकहरूको ट्रेड युनियनहरूबीच चिया मजदुरको पारिश्रमिक वृद्धि गर्ने सहमति भएको छ । नेपाल चिया कफी श्रमिक युनियनका अध्यक्ष सन्तकुमार राईले नवौँ पटकको वार्तापछि रोजगारदाता र श्रमिकका प्रतिनिधि सङ्गठनहरूबीच मजदुरको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने सहमति भएको बताए ।
नेपाल चिया उत्पादक सङ्घको भद्रपुरस्थित कार्यालयमा सोमबार भएको सहमतिमा सङ्घका तर्फबाट वार्ता समिति संयोजक जेपी शर्माले हस्ताक्षर गरेका छन् । त्यसैगरी, श्रमिक सङ्गठनहरुको तर्फबाट नेपाल चिया कफी श्रमिक युनियनका अध्यक्ष सन्तकुमार राई, अखिल नेपाल चिया मजदुर सङ्घकी अध्यक्ष सीता सापकोटा र नेपाल चिया बगान श्रमिक सङ्घका अध्यक्ष दीपक तामाङले हस्ताक्षर गरेका छन् ।
नयाँ सहमतिअनुसार चिया श्रमिकले दैनिकतर्फ न्यूनतम रु पाँच सय ६५ पारिश्रमिक पाउनेछन् भने मासिकतर्फ न्यूनतम रु १५ हजार ६९९ पाउने भएका छन् । हरेक दुई वर्षमा पारिश्रमिक वृद्धि गर्ने पुरानो सहमति अनुरुप भएको वार्ताबाट दुवै पक्ष पारिश्रमिक बढाउन सहमत भएका हुन् ।




