काठमाडौँ, १२ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दसैँपछि बस्ने केन्द्रीय कार्यसमिति बैठकले १५ औँ महाधिवेशनको मिति टुङ्गो लगाउने बताएका छन् ।
सर्लाहीमा आयोजना हुने पार्टीको कार्यक्रममा सहभागी हुन बिहीबार जनकपुरधाम आएका महामन्त्री थापाले जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै पार्टीको विधान अनुसार ०८३ मंसिरभित्रै १५ औँ महाधिवेशन हुने दाबी गरे ।
महामन्त्री थापाले पार्टीभित्र देखिएका आन्तरिक चुनौतीलाई सहमति र संवादमार्फत समाधान गर्दै अघि बढ्ने स्पष्ट पारे । ‘कसले के भन्यो भन्नेभन्दा पनि विधानअनुसार अघि बढ्नै पर्छ,’ उनले भने ।




