संखुवासभा, ८ चैत । खाँदबारी बजारस्थित बराल किराना पसलबाहिर बाल्टिनमा पानी र छेउमा साबुन राखिएको छ । पसल पुग्ने जोकोही ग्राहकले पहिले साबुन पानीले अनिवार्य हात धुनुपर्छ अनि मात्र सामान खरिद गर्न पाइन्छ ।
पसल सञ्चालक पोगषराज बरालले टाढाबाट अपरिचित ग्राहकसमेत आउने भएकाले केही दिनयता यस्तो व्यवस्था गरिएको बताए । ‘सामान किन्न आउनेले पहिले हात राम्ररी नधोएसम्म पैसा लिन्नँ, सामान पनि दिन्नँ,’ उनले भने ।
सबै व्यापारीले पसलछेउमा साबुन पानीको व्यवस्था गर्ने हो भने ग्राहक र व्यापारी दुवै कोभिड–१९ को जोखिमबाट सुरक्षित हुने उनले बताए । ‘ग्राहकले हात धुँदा ढुक्क भइँदोरहेछ, आत्मबल बढ्छ,’ उनले भने । खाँदबारीमा करिब तीन दर्जन व्यापारीले पसलअगाडि बरालले जस्तै व्यवस्था मिलाएका छन् । सामान किन्न पुगेकी मेनुका विकले यस्तो व्यवस्थाले ढुक्क भएको बताइन् । ‘बाहिरबाट जाँदा विभिन्न सामान छोइएको हुन्छ, उनले भनिन्, ‘हात धोएर सामान लिँदा ढुक्क लाग्छ ।’

सदरमुकाममा रहेका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाले समेत विभिन्न खाले सचेतना अपनाउन थालेका छन् । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।




