भारतको १६ राज्यमा भाजपाको एकल सरकार,केन्द्रीय चुनावमा दुई तिहाई बहुमतको प्रबल सम्भावना

`

     २०८० मंसिर १८ गते ८:१४

नयाँदिल्ली,मंसिर १८, २०८० — भाजपाले भारतमा आइतबार आएको नतिजाअनुसार मध्यप्रदेश, राजस्थान र छत्तिसगढमा स्पष्ट बहुमत प्राप्त गरेको छ । भारतको केन्द्रीय शासनमा रहेको भाजपाले हिन्दी भाषी क्षेत्रका प्रमुख तीन राज्यको विधानसभा चुनाव जितेको हो । दक्षिणी राज्य तेलंगानामा भने क्षेत्रीय पार्टी बीआरएसलाई पछि पार्दै कंग्रेस विजयी भएको छ । नोभेम्बरभर चरणबद्ध रूपमा मध्यप्रदेश, राज्यस्थान, छत्तिसगढ, तेलंगाना र मिजोरम राज्यमा चुनाव भएको हो । मिजोरमबाहेकका चार राज्यको मतगणना आइतबार एकैसाथ भएको हो । मध्यप्रदेशमा सरकार जोगाउँदै भाजपाले जित हासिल गरेको छ भने राजस्थान र छत्तिसगढमा कंग्रेसलाई विस्थापित गरेको छ । मिजोरमको मतगणना भने सोमबार हुने भएको छ, जहाँ ‘हंग पार्लियामेन्ट’ हुन सक्ने अनुमान छ । त्यहाँ अहिले नेसनल फ्रन्ट पार्टीको सरकार छ ।

करिब पाँच महिनापछि भारतमा केन्द्रीय सरकार निर्माणका लागि आमचुनाव हुँदै छ । त्यसअघि पाँच राज्यमा भएको विधानसभा चुनावको परिणामले कंग्रेससहितका प्रतिपक्षीलाई थप रक्षात्मक बनाएको छ । सन् २०१४ यता विभिन्न तहका चुनाव भाजपाले प्रधानमन्त्री नरेन्द्र मोदीकै नाम र चेहराको बलमा जित्दै आएको छ । लोकसभामा ठूलो सिट संख्या रहेका राज्यमा भएको जितले आगामी चुनावमा पनि भाजपाले लाभ उठाउने सम्भावना देखिएको छ । आइतबार साँझ भाजपा मुख्यालय पुगेका प्रधानमन्त्री मोदीले अहिलेको परिणामले २०२४ को लोकसभा चुनावमा ‘ह्याट्रिक ग्यारेन्टी’ गरेको दाबी गरे । मोदीले चुनावी परिणामको सन्देश पूरै विश्वले थाहा पाएको हुन सक्ने भन्दै उत्साह प्रकट गरेका छन् । भारतमा २०१४ र २०१९ को लोकसभा चुनाव भाजपाले जितेर लगातार दोस्रो कार्यकाल मोदी प्रधानमन्त्री छन् । उनले तेस्रो पटक पनि भाजपाले सरकार बनाउने दाबी गर्दै आएका छन् ।

गतवर्ष कंग्रेस नेता राहुल गान्धीले गरेको ‘भारत जोडो यात्रा’ वा उनका अन्य विभिन्न प्रयासहरूको परिणाम हिन्दी भाषी प्रदेशमा देखिएन । चुनावी सर्वेक्षणहरूले राजस्थानमा कंग्रेस र भाजपाबीच कडा प्रतिस्पर्धा रहने र छत्तिसगढमा कंग्रेसले पुनः सरकार बनाउने देखाएका थिए । तर, दुवै राज्य कंग्रेसले गुमाएको छ । यसअघि दक्षिणी राज्य कर्नाटकमा जित हात पारेको कंग्रेसले त्यही क्षेत्रको तेलंगानामा भने सफलता पाएको छ । त्यहाँ क्षेत्रीय पार्टी बीआरएसको सरकार थियो । चुनावी परिणामपछि कंग्रेस नेता गान्धीले जनादेशलाई विनम्रतापूर्वक स्वीकार गरेको र विधारधाराको लडाइँ जारी राख्ने बताएका छन् । कंग्रेस पार्टी अध्यक्ष मल्लिकार्जुन खड्गेले जितका लागि तेलंगानाका मतदातालाई धन्यवाद दिएका छन् । उनले आफूहरूले अपेक्षा गरेअनुसार चुनावी परिणाम नआए पनि थप मिहिनेतपछि पुनः सरकारको जिम्मेवारीमा फर्किने विश्वास व्यक्त गरेका छन् । चुनाव भएकामध्ये सबैभन्दा बढी विधानसभा क्षेत्र रहेको राज्य मध्यप्रदेश हो । २ सय ३० सिटको विधानसभामा भाजपाले १ सय ६३ सिट जितेको छ । कंग्रेसले जम्मा ६६ सिट जितेको छ । राजस्थानको १ सय ९९ सदस्यीय विधानसभामा भाजपाले १ सय १५ सिटमा जित हात पारेको छ । त्यहाँ कंग्रेसको सरकार थियो । कंग्रेस विपक्षमा पुगेको छ । पछिल्लो पाँच वर्ष पार्टीभित्रको अन्तरकलहले राजस्थान कंग्रेस समस्यामा थियो । कंग्रेस ६९ सिटमा सीमित भएको छ । राजस्थानमा प्रत्येक चुनावमा सत्तासीन पार्टीलाई विपक्षमा पुर्‍याउने परम्परालाई यस पटक पनि मतदाताले कायम राखेका छन् । त्यस्तै, छत्तिसगढ पनि कंग्रेसले सत्ता गुमाएको छ । ९० सिटको विधानसभामा भाजपाले ५४ सिट जितेको छ । कंग्रेस ३५ सिटमा खुम्चिएको छ । १ सय १९ सदस्य रहेको तेलंगाना विधानसभामा सत्तारूढ पार्टी बीआरएसलाई कंग्रेसले पराजित गरेको छ । बहुमतका लागि ६० सिट आवश्यक रहेकोमा कंग्रेसले ६४ सिट जितेको छ । सत्तारूढ बीआरएस पार्टी ३९ सिटमा सीमित भएको छ । भाजपाले ८ सिटमा चित्त बुझाउनुपरेको छ । भूराजनीतिका जानकार चन्द्रदेव भट्ट धर्म, संस्कृति तथा परम्परासँगै आर्थिक विकासलाई पनि सँगै लगेकाले भाजपाले जनताको विश्वास जोगाएको बताउँछन् । ‘भाजपा महिला, युवा, किसान र गरिबमा पुग्यो । तल्लो स्तरमा पुग्यो । जनताको आधारभूत आवश्यकतालाई पूरा गर्ने र धर्म संस्कृतिलाई अघि बढाउने काम गरेको छ,’ उनले भने, ‘भारतमा सर्भिस डेलिभरीमा पनि भाजपा सरकार बलियो देखिएको छ । त्यसैको असर पछिल्लो निर्वाचन नतिजामा पनि देखा परेको छ ।’ कूटनीतिज्ञ तथा राजनीतिक विश्लेषक विजयकान्त कर्ण मोदीको नेतृत्व र उनको प्रभावलाई कंग्रेसले संरचनागत रूपमा चुनौती दिन नसकेको बताउँछन् । केन्द्रमा विपक्षी रहेको कंग्रेसले दक्षिण भारतमा पकड फर्काउँदै गए पनि उत्तर भारतमा आफ्नो स्थान गुमाउँदै गएको छ । ‘भाजपा र आरएसएसले गर्दै आएको धर्मको राजनीतिको प्रभाव उत्तर भारतमा बढी देखिएको पुष्टि भएको छ,’ कर्ण भन्छन् ।

सैद्धान्तिक लोकतन्त्रलाई कंग्रेसले बढावा दिए पनि भाजपाले व्यावहारिक लोकतन्त्रको अभ्यास गरेकाले जनताले भाजपालाई मन पराएको देखिएको भट्टको बुझाइ छ । ‘पछिल्लो नतिजाका आधारमा भाजपाले २०१९ को भन्दा पनि बढी सिट ल्याएर २०२४ मा सरकार बनाउने देखिएको छ,’ उनको विश्लेषण छ । चार सय ४५ सदस्यीय भारतीय लोकसभामा भाजपासँग तीन सय तीन सिट छन् । राज्यको निर्वाचनका आधारमा अर्को वर्ष हुने केन्द्रको निर्वाचनको नतिजा आकलन गर्न नमिल्ने कूटनीतिज्ञ मोहनकृष्ण श्रेष्ठको टिप्पणी छ । ‘राज्यको चुनाव र केन्द्रको चुनावमा फरक हुन्छ । केन्द्रको निर्वाचनमा विपक्षीहरूले गठबन्धन पनि गर्छन्,’ उनी भन्छन्, ‘राज्यको नतिजाको आधारमा केन्द्रको निर्वाचनमा कसले बाजी मार्छ भन्ने कुरा अहिले नै भन्न सकिन्न ।’ पछिल्लो चुनाव परिणामले भाजपा नेतृत्वको राज्य सरकारको संख्या १६ पुगेको छ । १२ राज्यमा भाजपा एक्लैले र चार राज्यमा गठबन्धनको बलमा सरकारमा हुनेछ । नयाँ परिणामपछि मध्यप्रदेश, राजस्थान र छत्तिसगढमा भाजपाको एकल बहुमतको सरकार बन्ने भएको छ । त्यसबाहेक उत्तरप्रदेश, उत्तराखण्ड, गुजरात, हरियाणा, गोवा, असम, त्रिपुरा, मणिपुर, अरुणाचल प्रदेशमा भाजपाको बहुमतको सरकार छ । महाराष्ट्र, मेघालय, नागाल्यान्ड र सिक्किममा गठबन्धनसहित भाजपा सरकार छ । दक्षिण भारतमा भने कुनै पनि राज्यमा भाजपा सरकार छैन । कंग्रेसको एकल सरकार रहेका राज्यको संख्या भने तीनमा खुम्चिएको छ । कर्नाटका, तेलंगाना र हिमाचल प्रदेशमा कंग्रेस सरकार छ । बिहार र झारखण्डमा कंग्रेस गठबन्धन सरकारमा छ । दिल्ली र पञ्जाबमा आम आदमी पार्टीको सरकार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?