भारतबाट राम्रो सांगठनिक सहयोग प्राप्त नभएको भए जनयुद्ध १० वर्षसम्म जान नसक्ने प्रचण्डको दाबी

`

     २०८० मंसिर १० गते ७:२०

काठमाडौँ,मंसिर १०, २०८० — माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले भारतमा राम्रो संगठन बनाउन नसकेको भए जनयुद्ध १० वर्षसम्म अघि बढ्न नसक्ने महसुस गरेको बताएका छन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खुशीराम पाख्रिनको छैटौं स्मृति दिवस तथा खुशीराम पाख्रिन स्मृतिग्रन्थ विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भारतमा राम्रो संगठन नबनाएको भए नेपालमा गणतन्त्र ल्याउने कुरा मुस्किल हुने बताए ।

प्रधानमन्त्री प्रचण्डले भारतमा संगठन हुनुको कारणले नै आफूहरुले भूमिगत रुपबाट धेरै सहयोग प्राप्त गरेको बताए । उनले कार्यकर्तादेखि लड्ने योद्धाहरुसमेत भारतबाट पाएको बताए । उनले भारतमा भएका लाखौं नेपालीहरुलाई संगठित र आन्दोलित गर्ने कुराको भूमिका स्व पाख्रिनले गरेको बताएका थिए । भारतमा संगठन विस्तार गर्न राजनीतिक नेताहरुको भन्दा पाख्रिनजस्ता सांस्कृतिककर्मीहरुको भूमिका बढी महत्वपूर्ण रहेको उनको भनाइ थियो ।

भारतमा संगठन हुनुको कारणले नै हामीले थुप्रै चिजहरु भूमिगत रुपबाट त्यहाँबाट सहयोग प्राप्त गर्‍यौं । ‘भारतमा हामीले राम्रो संगठन बनाउन नसकेको भए जनयुद्ध १० वर्षसम्म अघि बढ्ने र त्यसले गणतन्त्रसम्म नेपालमा ल्याउने कुरा सायद मुस्किल हुन पनि सक्थ्यो । भारतमा हामिले कार्यकर्ता प्राप्त गर्‍यौं, लड्ने योद्धाहरु सिधै आएर फौजी मोर्चामा जाने र आउनेहरु पनि भयो । सबै-सबै धेरै किसिमका प्राविधिकदेखि सेक्युरिटीसम्म सबै विषयमा इण्डियामा भएका लाखौं नेपालीहरुलाई संगठित र आन्दोलित गर्ने कुराको भूमिका रहृयो उनले भने,त्यसो गर्नेमा राजनीतिक नेताहरुको भन्दा कमरेड खुशीराम पाख्रिनजस्ता सांस्कृतिककर्मीहरुको भूमिका बढी महत्वपूर्ण भयो । यसले निकै छिटो गतिमा नेपालीहरुलाई संगठित गर्न र आन्दोलित हुन उत्प्रेरित गर्‍यो ।’ प्रधानमन्त्री दाहालले पाख्रिनको स्मृति ग्रन्थले भावी पुस्तालाई उहाँँको योगदानको बारेमा बुझाउने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?