काठमाडौँ, २३ असार । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज र पछिल्लो समय नेपाली खेलाडीले पाएको सफलता प्रशंसनीय भएको बताएका छन् ।
एसीसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको विजेता नेपाली टोलीलाई आज शीतल निवासमा बधाई दिँदै उनले क्रिकेटमा नेपालीले हात पारेको सफलता खेलाडीको खेलप्रतिको समर्पण, लगाव र मेहिनतको प्रतिफल भएको उल्लेख गरे ।
उनले सिङ्गापुरसँग भएको फाइनलमा एसिसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेर मुलुकको प्रतिष्ठा उँचो बनाएको भन्दै यसले नेपाल र नेपालीको इज्जत, प्रतिष्ठा बढाएको स्पष्ट पारे ।




