काठमाडौँ, १९ जेठ । निजामती कर्मचारीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका छन् । सङ्घीय निजामती सेवा विधेयकमा उल्लेख केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै आएका निजामती कर्मचारीहरूले आज पनि धर्ना दिएका हुन् ।
उनीहरूले सेवा अवधि भएको कर्मचारीलाई एक तह वृद्धि गर्ने समय ७ वर्ष नभई ५ वर्ष राख्नुपर्ने, सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूलाई एक पटकका लागि समायोजनका लागि छनौटको अवसर दिनुपर्ने लगायतका माग राखेका छन् ।
त्यस्तै स्थानीय र प्रदेशमा रहेका कर्मचारीका लागि अन्तर प्रदेश सरुवाको व्यवस्था हुनुपर्ने, तीनै तहका कर्मचारीलाई निजामतीको परिभाषाभित्र समेट्नुपर्ने माग उनीहरूको रहेको छ ।




