काठमाडौँ, जेठ १ । सशस्त्र प्रहरी बल नेपालले मनसुनजन्य विपद् न्यूनिकरण तथा उद्वारका लागि आफ्नो तयारी थालेको छ । यसका लागि देशभरी नै विपद् जनचेतना रेस्पोन्स पट्रोल शुरु गरिएको छ भने टोलटोलमा विपद् सूचक राख्नेदेखि, सशस्त्र प्रहरीका सबै युनिटमा विपद् व्यवस्थापनका आधारभूत सामानको व्यवस्थापन गर्ने, विपद् सम्बन्धि अनुशिक्षण तथा अभ्यास संचालन गर्ने लगायतका रहेका छन् ।
अघिल्ला वर्षहरुमा भएको विपद्का घटनाहरुलाई विश्लेषण गर्दै आगामी दिनमा हुनसक्ने जोखिम न्यूनिकरणका लागि अवलम्वन गर्नुपर्ने उपायका बारेमा मंगलबार प्रधान कार्यालय हलचोकमा व्यापक छलफल भएको थियो । उपत्यकाका सबै युनिट कमाण्डर तथा फिल्डमा खटिने सिनियर, जुनियर अधिकृत तथा अन्य दर्जा समेतको सहभागितामा छलफल गर्दै फिल्डमा खटिँदा भोगेका अनुभव र समस्या तथा नयाँ रणनीतिको बारेमा पनि छलफल गरिएको छ । विपद् सूचक अन्तर्गत आफ्ना पूर्व कर्मचारी समेत यसमा सहभागि गराउँदै वडा–वडामा सचेतना मूलक कार्यक्रम गर्ने सशस्त्र प्रहरीले तयारी थालेको छ ।




