काठमाडौं, वैशाख २४ । आज विभिन्न कार्यक्रम गरी ‘१०औँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदैछ । गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिन्छ ।
सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रिय रुपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थालिएको हो । विसं १९५८ वैशाख २४ गतेदेखि साप्ताहिक रुपमा गोरखापत्रको प्रकाशन सुरु भएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरले दशौं पत्रकारिता दिवसले पत्रकारिता जगतलाई प्रोत्साहित र जिम्मेवार पत्रकारिताको विकासका साथै नयाँ पुस्तालाई हौसला र प्रेरणा प्रदान गर्नेमा विश्वास व्यक्त गरे ।




