काठमाडौँ, फागुन ७ । कोशी प्रदेश सभामा आज विशेष सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुलुकलाई अगाडि बढाउन थालेको बताएका छन्।
‘हामी जनताको गरिबी र पछ्यौटेपन हटाएर जान चाहन्छौँ। गरिबी हटाएर मात्रै सन्तोष मान्दैनौँ। समग्र मानवीय जैविक र न्यायोचित आवश्यकताको परिपूर्ति गरेर मुलुकलाई अगाडि बढाउनुछ,’ प्रधानमन्त्री ओलीले भने, ‘नागरिक सर्वोच्चता भएको यस प्रणालीमा रहेर समृद्धिका लागि छिटो काम गर्न चाहन्छौँ। रोजगारीका अवसरमा सृजना गर्न चाहन्छौँ। त्योभन्दा पहिला हामीले उद्यमशीलतामा जोड दिनुपरेको छ। त्यसकारण देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो। संविधानबमोजिम तीनै तहका सरकारले सहकार्य गरेर देश विकासमा लाग्नुपर्छ।’




