काठमाडौँ, नेपाल । सहिद लखन गाउँपालिकाले पालिकाभित्रका अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण तथा नवीकरण गरेको छ ।
गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिका सहजताका लागि चिकित्सकसहित कर्मचारी र जनप्रतिनिधि परिचालन गरी अपाङ्गता परिचयपत्र वितरण गरेको गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीले जानकारी दिए ।
पालिकाभित्रका दुई सय ३३ जना अपाङ्गता भएका व्यक्तिलाई सेवा प्रदान गरिएको उनले बताए । जसमा परिचयपत्र नभएका थप नौ जनालाई नयाँ अपाङ्गता परिचयपत्र वितरण गरिएको छ भने दुई सय २४ जनाको अपाङ्गता परिचयपत्र नवीकरण गरिएको गाउँपालिकाले जनाएको छ ।
नयाँ अपाङ्गता परिचयपत्र वितरण गरिएकाहरुमा वडा नम्बर २, ४, ५, ६, ८ र ९ का रहेको उनले बताए । पालिकाले यही भदौ २० देखि २४ गतेसम्म घर तथा टोलटोलमा पुगेर परिचयपत्र वितरण तथा नवीकरणको काम सम्पन्न गरेको हो । घरमै परिचयपत्र नवीकरण तथा नयाँ परिचयपत्र प्राप्त गरेपछि लाभग्राही दङ्ग छन् ।




