औषधि र औद्योगिक प्रयोजनका लागि गाँजा खेती खुला गर्नुपर्छ

`

     २०८१ ज्येष्ठ २५ गते ४:५४

काठमाडौं,जेठ २५ । गृहमन्त्री रवि लामिछानेले औषधि र औद्योगिक प्रयोजनका लागि गाँजा उत्पादन खुला गर्ने आवश्यक नियमावली ल्याउने बताएका छन्। सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा लामिछानले औषधि र औद्योगिक प्रयोजनका लागि गाँजा खेती खुला गर्नका लागि नियमावली बनाउन मन्त्रालयले अध्ययन गरिरहेको र एक महिनाभित्रै नियमावली ल्याउने बताए।

नेपालमा गाँजालाई व्यवसायीकरण गर्ने उद्देश्यले नै बजेट विनियोजन गरिएको भन्दै आवश्यक सुरक्षा चुनौतीका विषयमा मन्त्रालयले गम्भीर भएर काम गर्ने उनले बताए। यसअघिका विभिन्न प्रतिवेदनलाई अध्ययन गरेर अन्तिम निष्कर्ष निकाल्ने अवस्थामा गृहमन्त्रालय रहेको उनको भनाइ छ।

बैठकमा अर्थमन्त्री वर्षमान पुनले मुलुकलाई आर्थिकरूपमा अघि बढाउनका लागि नै गाँजाको औषधि र औद्योगिक प्रयोजनका लागि उत्पादनमा जोड दिइएको जानकारी दिए। अप्रत्यक्षरूपमा गाउँगाउँमा गाँजा खेती भइरहेको सन्दर्भमा अनुसन्धानका लागि गाँजा तत्काल खुला गरिँदा कसैले पनि डर मान्न नपर्ने तर यसका कारण हुने विकृतिलाई भने ध्यान दिइनुपर्ने उनको भनाइ छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?