काठमाडौं, १ जेष्ठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल षड्यन्त्रपूर्वक विभाजन गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
मंगलबारदेखि राजधानीमा सुरू पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा नेपालले जसपा नेपाललाई सरकारबाट गलहत्याएर निकालिएको टिप्पणी गरे ।
उनले भने, ‘सँगसँगै जाला भन्ने ठानेको, निर्वाचनपछिको अवधिमा सँगसँगै जाला भनेको समाजवादी मोर्चाको महत्त्वपूर्ण घटक रहेको जसपा नेपाल विभाजित भयो । विभाजित गरियो, विभाजित भयो, विभाजित गरियो र विभाजित भएको मात्रै होइन, गरिएको मात्रै होइन, सरकारबाट पनि उसलाई निकालियो । मुन्ट्याउने काम मात्रै भएन, यदि उपेन्द्र यादवले राजीनामा नदिएको भए गलहत्याएर निकालिन्थ्यो ।’
जसपा नेपाल एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध सँगसँगै लडेको भनेर स्मरण गर्दै ‘चाहिंदाको भाँडो, नचाहिंदाको ठाँडो’ जस्तो बनाइएको बताए ।




