काठमाडौँ, बैशाख १९ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले श्रम क्षेत्रका विभेद् हटाउन नीतिगत सुधार आवश्यक रहेको बताएका छन् ।अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालले श्रमजीवी वर्गको हक, हित तथा अधिकार सुनिश्चित नभएसम्म मुलुकको विकास र रूपान्तरण हुन नसक्ने बताए ।
लोकतन्त्रका मूल्य मान्यता स्थापित गर्न आफ्नो पार्टी निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले भने, “अहिले ठूलो मात्रामा सक्रिय युवा जनशक्ति श्रमका लागि विदेसिएको छ । स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराई उनीहरूको ज्ञान, सीप र ऊर्जा देश विकासमा लगाउन जरुरी छ । अर्कोतर्फ वैदेशिक रोजगारीमा जाने श्रमिकको हक, अधिकार, सुविधा र असल श्रम सम्बन्ध सुनिश्चित गर्न सरकार क्रियाशील हुनुपर्दछ ।”




