काठमाडौँ, फाल्गुण ९ । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुआती सात महिना अवधिमा मुलुकले कुल रु नौ खर्ब ८४ अर्ब ७७ करोडको वैदेशिक व्यापार गर्दा रु आठ खर्ब ११ अर्ब ११ करोड बराबरको घाटा व्यहोरेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिना अवधिको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार माघ मसान्तसम्ममा रु आठ खर्ब ९७ अर्ब ९४ करोड ३९ लाख बराबरको आयात भएको छभने रु ८६ अर्ब ८३ करोड नौ लाख १२ हजार बराबरको मात्रै निर्यात भएको छ ।
गत आर्थिक वर्षको सुरुआती सात महिना अवधिको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आयात दुई दशमलव ३१ निर्यात सात दशमलव ०७ प्रतिशतले घटेको छ । गत वर्षको तुलनामा समग्र व्यापार घाटा दुई दशमलव ७५ प्रतिशतले घट्दा व्यापार घाटा पनि एक दशमलव ७७ प्रतिशतले घटेको भन्सार विभागले जनाएको छ ।




