काठमाडौँ, माघ १९ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले क्षयरोग थाहा पाउन प्रत्येक घरघरमा पुगेर बिरामी पहिचान गरी रोग निर्मुल पार्न सुरु गरिएको अभियानलाई प्रभावकारी बनाउन आग्रह गरेका छन् ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा आज आयोजित ‘क्षयरोग मुक्त नेपाल अभियान’अन्तर्गत दोस्रो चरणको कार्यक्रमको शुभारम्भ गर्दै उनले रोग उन्मूलन गर्न सर्वप्रथम रोग थाहा पाउनुपर्ने बताएका हुन् ।
“क्षयरोग निर्मुलका लागि तीन वर्षअघिदेखि सुरु भएको यो अभियानमा यस वर्ष थप एक सय वटा पालिका थपिएको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीबाट सुरु भएको यो अभियानमा प्रत्येक घरघरमा पुगेर क्षयरोगका बिरामी पहिचान गरी निर्मुलमा ध्यान दिन आग्रह गर्दछु ।
रोगको निदानका लागि जनचेतना नै महत्वपूर्ण हो, यसका लागि सरकारका तीनै तह एक आपसमा मिलेर काम गर्नुपर्छ”, मन्त्री बस्नेतले भने ।



