काठमाडौँ महानगरको श्रम बैंकमा दुई हजार आवेदन

`

     २०८० माघ ०७ गते १०:५७

काठमाडौँ, माघ ७ । काठमाडौँ महानगरपालिकाको श्रम बैंकमा दुई हजार आवेदन परेका छन् । गत भदौ पहिलो साता महानगरले बेरोजगार जनशक्तिलाई श्रम बैंकमा आबद्ध हुन गरेको मागअनुसार हालसम्म दुई हजार आवेदन आएको महानगरको प्रशासन महाशाखा प्रमुख सरिता राईले जानकारी दिए ।

प्रमुख राईका अनुसार महानगरले आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजनाअन्तर्गत श्रम बैंक सञ्चालन गर्ने नीति लिएको थियो । यसरी आवेदन आएका र दक्ष कामदारलाई महानगरले नियमितरूपमा काममा खटाइरहेको प्रमुख राईले जानकारी दिए ।

अहिले काममा खटाइएका कामदार सम्पदा क्षेत्रको सरसफाइ र सम्पदाकै अन्य कामका लागि खटिएको उनले जानकारी दिए । अहिले दैनिक एक सय ५० कामदार महानगरकै विभिन्न काममा खटिएको उनको भनाइ छ । आवेदनमध्ये कुनै सीप नभएकालाई सीप सिकाएरै काममा लगाउने तयारी भइरेको उनले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?