काठमाडौँ, ११ पुस । सार्वजनिक लेखा समितिले टेरामक्स खरिद प्रक्रियामा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न निर्देशन दिएको छ । समितिको बुधबार बसेको बैठकले खरिद प्रक्रियामा संलग्नमाथि सूक्ष्म अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको हो ।
समिति सभापति ऋषिकेस पोखरेलले टेरामक्सको खरिद र कार्यान्वयन प्रक्रिया यथास्थितिमा राख्न निर्देशन दिँदै यसमाथि सुक्ष्मढंगले अनुसन्धान गर्न समेत निर्देशन दिएका हुन् । ‘हालसम्म सम्पादित कार्य यथास्थितिमा राख्दै यसमाथि सूक्ष्म विश्लेषण र अनुसन्धान गर्नपर्ने देखिएको छ,’ सभापति पोखरेलले भने, ‘अनुसन्धान गरेर शीघ्र निष्कर्षमा पुगेर प्रत्येक ३० दिनमा समितिलाई जानकारी दिन निर्देश गर्दछु ।’




