काठमाडौँ, असोज १८ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै गम्भीर अपराधका दोषीलाई सजाय माफी दिएर सरकारले बदनियतपूर्ण काम गरेको आरोप लगाएको छ ।
थापाले कानुनको छिद्रबाट बदनियतका साथ माफी दिइएको भन्दै संसदले यस्लाई तुरुन्त सच्च्याउनुपर्ने बताएका छन् ।
उनले भने – ‘संविधान दिवसका दिन ६७० जनालाई माफी मिनाहा गरिएको छ । त्यसमध्ये कति त संविधान र कानुनसम्मत पनि छ होला । तर फेरि एकपटक संविधानको मर्मविपरीत र कानुनको छिद्रबाट बदनियतका साथमा छिरेर गम्भीर अपराधमा दोषी ठहर भएका दोषीहरूलाई कैद माफी मिनाहा गरिएको छ । बदनियतका साथ भएको यो निर्णय गलत छ । यसको विरोध स्वभाविक छ, बाञ्छनिय छ, यसको विरोध हुन्छ, र हामी विरोध गर्दछौँ । यो विषय अदालतको ढोकासम्म पुगेको छ, जसले हामीलाई नै गिज्याइरहेको छ । यसबाट अदालत माथि पनि प्रश्न खडा भएको छ ।’




