काठमाडौँ, १० आश्विन । नेपाल प्रहरीको प्रधान कार्यालयले कार्यालयको सम्पर्कमा नरहेका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।
हेडक्वाटरले आज बुधवार गैरहाजिर प्रहरीहरूको नामावलीसहित एक सूचना सार्वजनिक गर्दै सात दिनभित्र कार्यालयमा हाजिर हुन आउन निर्देशन दिएको केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए ।
उनले भने, ‘लामो समयदेखि आफूखुशी कार्यालयमा गैरहाजिर भएका र खोजी गर्दा पनि नभेटिएकाले आज सूचना प्रकाशित गरी गैरहाजिर हुनाका कारण खुलाई स्पष्टीकरण पेस गर्न एक हप्ताको म्याद दिई सम्पर्कमा आउन भनेका छौँ ।’




