
२०७६ मङ्सिर ७, शनिवार
भारतले लिपुलेक क्षेत्रको नेपाली जमिन आफ्नो भूभागमा समेटेको नक्सा दोस्रो चोटि सार्वजनिक गरेको छ । यस पाली भने उसले काली नदी शब्द मेटेर पहिलेकै नक्सा सार्वजनिक गरेको हो ।
भारतले काली नदीको नाम मेटेर नक्सा सार्वजनिक गरेपछि नेपालको पहिचान लोप हुने भन्दै नागरिक अगुवाहरूले सीमा रक्षाको लागि सार्वजनिक आह्वान गरेका छन् । अह्वानकर्ता नागरिक अगुवामा राष्ट्रकवि माधवप्रसाद घिमिरे, शताब्दीपुरुष सत्यमोहन जोशी, डा. गौरीशङ्करलाल दास, हिमालय शमशेर जबरा, भैरव रिसाल, प्राडा उपेन्द्रमान मल्ल, केदारभक्त माथेमा, डा. चैतन्य मिश्र, डा. पीताम्बर शर्मा, कवि वैरागी काइँला, सीमाविद् हिरण्यलाल श्रेष्ठ, प्राडा त्रिरत्न मानन्धर, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, जलविद् डा. जगतकुमार भुसाल आदि रहेका छन् ।
आह्वानकर्ताहरूले बिस बुँदे माग सरकार समक्ष राख्दै लिम्पियाधुरा सम्मको अतिक्रमित जग्गा भारतलाई छाड्न र सार्वजनिक नक्सा सच्याउन माग गरेका छन् । लिम्पियाधुरा सम्मको नेपालको अधिकार जनाई भारतलाई पत्र लेख्न र ऐतिहासिक दस्ताबेज सहित भारतसँग प्रधानमन्त्री तहबाटै वार्ता थाल्न आह्वानकर्ताले सुझाव दिएका छन् ।
आह्वानमा दशगजा क्षेत्रमा मिचिएको सीमास्तम्भ यथास्थानमा पुनः स्थापना गर्न नेपाल, भारत र चीनबिच त्रिपक्षीय वार्ता थाल्न भनिएको । त्यसै गरी लिम्पियाधुरा सम्मको सबै क्षेत्र नेपालमा देखिने गरी नक्सा तयार पार्न तथा नेपालको संविधानमा समावेश गर्दै राष्ट्रिय चिन्ह सच्याउन आह्वान गरिएको छ ।




