काठमाडौँ, ७ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पदमा रहँदा गरेका कुनै पनि काम कारबाही कानुनविपरित नभएको दाबी गरेका छन् । बिहीबार भक्तपुरमा आयोजित भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘कानुनले केपी ओलीलाई हतकडी लगाउने कुनै ठाउँ राखेको छैन, राख्दै राख्दैन ।’
उनले कुनै गल्ती नगरेकैले आफू ढुक्कले बोल्ने गरेको पनि बताए । ‘मलाई थाहा छ विरोधीहरू छन् । तिनले पाएसम्म सत्यका विरुद्ध काम गर्छन् । म सतर्क छु कानुनी रूपमा पनि कतै एक शब्द नचिप्लियोस् भनेर । म प्रधानमन्त्री, गृह र परराष्ट्र मन्त्री हुँदाका मेरा काम कारबाहीहरू कानुन पल्टाइपल्टाई फैसला र निर्णय गर्ने गरेको छु’, ओलीले भने, ‘त्यसकारण यिनीहरूका इच्छाले केपी ओलीलाई फसाउन सक्दैनन् । माकुराको जालोमा भैँसी पर्दैन ।’




