काठमाडौँ, श्रावण २६ । क्विन्टल सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समितिको माग गर्दै लगातार बैठक चल्न नदिएको प्रमुख प्रतिपक्षी एमालेले शुक्रबार पनि प्रतिनिधसभा र राष्ट्रिय सभा अवरोध गर्यो । जसका कारण आम सरोकारका जल्दाबल्दा विषयमा छलफल र नियमित कार्यसूचीमा संसद् प्रवेश गर्न सकेन ।
प्रतिनिधिसभाको बैठक एमालेले साउन १० यता लगातार अवरुद्ध गर्दै आएको छ । साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्विन्टलभन्दा बढी सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो ।
त्यसको छानबिन सुरुमा राजश्व अनुसन्धान विभाग गरेको थियो भने पछि नेपाल प्रहरीको राष्ट्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरिरहेको छ । एमालेले उक्त सुन तस्करीको छानबिन गर्नका लागि उच्चस्तरीय समिति गठन गर्न संसद् अवरोध गरेर दबाब दिइरहेको छ ।




