काठमाडौँ, श्रावण १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदले गरेका कैयौँ निर्णयहरू अझै पनि कार्यान्वयन हुन नसकेको बताएका छन् ।
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री दाहालले निर्णय कार्यान्वयनको विषयलाई लिएर देखिने गरी काम गर्ने प्रतिबद्धता जाहेर गरे ।
उनले भने ‘ मन्त्रिपरिषदले गरेका कैयौँ निर्णयहरू अझै पनि कार्यान्वयन हुन सकेका छैनन, यो विषयमा उचित र प्रभावकारी समन्वय प्रधानमन्त्री कार्यालयबाट हुन सकेन कि भन्ने मेरो अनुभूति छ। यसमा देखिने गरी सुधारका लागि आजैदेखि काम थाल्न म आग्रह गर्दछु। प्रधानमन्त्री कार्यालयका कार्यहरूको वार्षिक क्यालेन्डर ( कार्ययोजना ) तयार गरी लागू गर्नुहोस्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारीहरूले दैनिक रूपमा आफूले गरेका कार्यहरूको डायरी लगत तयार गरी लिखित रूपमा एक तह माथिको सुपरीवेक्षकसमक्ष पेश गर्ने र सोहीअनुसार कर्मचारीको पाक्षिक रूपमा मूल्यांकन गर्ने प्रणालीको सुरुवात गर्नुहोस । ’




