काठमाडौँ, १९ साउन । नेपालले पहिलो पटक विश्व साइक्लिङ च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ । प्रतियोगिता अगस्ट १३ तारिखसम्म स्कटल्यान्डको ग्लास्गोमा आयोजना हुनेछ ।
पुरुषतर्फ सुरज रानामगर र महिलातर्फ उषा खनालले प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन् । नेपालका दुवै खेलाडीले एउटै स्पधौ एमटीबी क्रस कन्ट्रीमा प्रतिस्पर्धा गर्ने नेपाल साइक्लिङ सङ्घले जनाएको छ ।
सुरज र उपा दुवै चीनमा आयोजना हुने १९औँ एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् । उषाले १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा एमटीबी क्रस कन्ट्री स्पर्धामै रजत पदक जितेकी थिइन् ।
नेपाली टोलीको व्यवस्थापकमा नेपाल साइक्लिङ सङ्घका महासचिव रञ्जन राजभण्डारी रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले बिदाइ गरे ।




