काठमाडाैं, २५ फागुन । प्रकाश कोइरालाको उपन्यास ‘प्रपञ्च’ बजारमा आएको छ । शनिबार राजधानीमा आयोजित एक समारोहबीच ‘प्रपञ्च’ लोकार्पण गरिएको हो । लेखक तथा पत्रकार अश्विनी कोइराला र पद्मकन्या क्याम्पसकी उप-प्राध्यापक तथा लेखिका अम्बिका अर्यालले सयुंक्त रुपमा उपन्यासको लोकार्पण गरेका हुन् ।
विशेषगरी नेपाली साहित्यमा कविको छवि बनाएका कोइरालाको यो पहिलो उपन्यास कृति हो । यसअघि उनका आरुआरती, यो देशको नाउँमा र जागृतीजागरण गरी तीनवटा खण्डकाव्य प्रकाशित भैसकेका छन् ।
सामाजिक प्रेम कथामा आधारित तथा ४६ वर्षे शिक्षकको जीवन कथालाई समेटिएर तयार पारिएको उक्त उपन्यासमा पहाडी जीवन शैली, बसाइँसराइ र आर्थिक तथा राजनैतिक विषयवस्तुलाई समेटिएको छ ।

समालोचक कोइरालाका अनुसार ‘प्रपञ्च’ मा सामाजिक कुराहरुलाई प्रेममा समेटेर कलात्मक ढंगले प्रस्तुत गरिएको छ । उनले नेपाली साहित्यमा एउटा नयाँ साहित्यकारको जन्म भएको पनि बताए । ‘सबैले एकपटक पुस्तक पढिदिनुहुन अनुरोध गर्दछु । भाषाका हिसाबले कुनै त्रुटी छैन । साहित्य र पुस्तकप्रेमीले प्रपञ्च पढ्दा खेर जाने छैन,’ उनले भने ।

पद्म क्याम्पसकी उप(प्राध्यापक अर्यालले किताब पढ्दै जाँदा लेखनशैलीले मन तानिने बताइन् । उनले भनिन् ‘उहाँले यो आख्यानभन्दा तीन वटा खण्डकाब्य लेखिसक्नुभएको रहेछ । उपन्यास पढ्दा कतै कविताले लगाम लगाएको पो छ कि भन्ने संका उब्जाएको थियो तर, यो उपन्यासमा त्यस्तो कठीन भाषाशैलीको प्रयोग भएको पाइदैन । मन छुने छन् । पढिरहुँ जस्ता छन् ।’
रामेछापको सामाजिक कथा हो, प्रपञ्च । जनकपुरमा अध्यापनको दौडानमा एक दशक बिताएका लेखक कोइरालाले त्यतिबेलै यो उपन्यासको पाण्डुलिपी तयार पारेका थिए । उपन्यास प्रकाशन हुँदासम्म ५५ हजार शब्द काटिँदा उपन्यासभित्र भएका कतिपय राम्रा शब्दहरु पनि काटिएका छन् ।
उपन्यास प्रकाशनका लागि लेखक कोइराला कयौँ प्रकाशनगृहकहाँ पुगे तर, तिरस्कार पाए । र, अन्तमा बीएन पुस्तक संसारमा जोडिन पुगे । बीएन पुस्तक संसारले लेखक कोइरालाका भाषाशैलीबाट प्रभावित हुँदै प्रकाशनका लागि तयार भयो । अन्ततः बजारमा ‘प्रपञ्च’ आइपुग्न सफल भयो ।



