
देशभित्र राष्ट्रियताको बारेमा मिठा कुरा गर्ने प्रधानमन्त्री खड्ग ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने कुरा गर्न डराएको आरोप नेपाली काँग्रेसका नेता रामहरि खतिवडाले लगाएका छन् । देशको सीमा मिचिँदा पनि ओली भारतसँग कुट्नीतिक रूपमा कुरा गर्न नसकेको खतिवडाले बताएका छन् ।
प्रधानमन्त्री हुनासाथ पाँच मिनेट भित्रै पहिलो विदेश भ्रमण स्वरूप भारतको भ्रमण गर्ने, राष्ट्रवादका मिठा मिठा कुरा गर्ने, भारतीय प्रधानमन्त्री आउँदा जुन ड्रेस लगाएर आउँछन्, उही ड्रेस भारतीय दूतावासमा सिलाउन लगाएर लगाउने तर यतिका सीमा मिचिँदा चाहिँ कुरा गर्न डराउने, यो हिसाबले दुई तिहाइको नेपालको कम्युनिस्ट सरकार हिम्मतहारा भएको खतिवडाले टिप्पणी गरेका छन् ।
बालुवाटारमा मिचिएको जग्गा त फिर्ता गर्न नसक्ने सरकारले के को भारतले मिचेको जमिन फिर्ता गर्थ्यो भन्दै सरकार लम्पसार परेर झुकेको खतिवडाको भनाइ थियो ।
वाइडबडी, सुन काण्ड, फोरजी, तस्करी लगायतका काण्ड यही सरकारको पालामा भएको भन्दै काम नगर्ने ठेकेदारलाई संरक्षण गर्ने पनि ओली सरकार भएको खतिवडाले उल्लेख गरेका छन् ।
नेपालको अस्तित्व रक्षाको लागि यो सरकारलाई सबैले सहयोग गर्दा पनि सरकार भने लगलग कामेको आरोप खतिवडाले लगाएका छन्।




